नेपाल पक्षका स्थायी समिति सदस्यहरुको आकस्मिक बैठक जारी

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यहरुको बैठक बसिरहेको छ। कलंकीस्थित मेघा पार्टी प्यालेसमा स्थायी समिति सदस्यहरुको बैठक बिहान ११ बजे देखि जारी छ।

बैठक समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेको बताइएको छ। काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा लागू हुने र देशका विभिन्न भागमा समेत निषेधाज्ञा जारी भएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छलफल गर्न बैठक डाकिएको एक नेताले बताए।

यसबाहेक नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याए आफूहरुको पोजिसन के बनाउने भन्ने सम्बन्धमा पनि छलफल हुने ती नेताको भनाइ छ। त्यस्तै ओलीको कारबाही रोक्नका लागि खनाल-नेपाल समूहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश जारी नभएपछि कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन बैठक केन्द्रित हुने बुझिएको छ।

सो समूहले आफ्नो समानन्तर गतिविधिलाइ तीव्र बनाएको छ। समानन्तर गतिविधि समेत नरोकेको र सरकारविरुद्धको अविश्वासको प्रस्तावमा नेपाल-खनाल समूहले फ्लोर क्रस गर्ने संभावना रहेको भन्दै ओलीले कारबाहीको तयारी समेत गरेका छन्।