नवलपरासी। कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले ३० बुँदे आदेश जारी गरेको छ। सबैले आदेश पालना गरी कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न चालेको कदममा सहयोग गर्न आग्रह गरिएको छ। पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण तीव्ररुपमा फैलिएको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो। कोरोना भाइरसले हुने ठूलो चुनौती रोक्न आदेश जारी गरिएकाले त्यसको सबैले पालना सरकारले आग्रह गरेको छ।
कोभिड-१९ को संक्रमणलाई हल्कारुपमा नलिन र हल्का ढंगले लिए संक्रमण अझ बढ्न गई स्थिति गम्भीर बन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ। जनताको जीवन जोगाउन आदेश जारी गरिएको स्वास्थ्यका मापदण्ड पालना गर्न सचेत गराइएको छ। संक्रमणको नयाँ स्वरूप देखिएकाले सचेत रहनु पर्नेमा जोड दिइएको छ।
कोरोना संक्रमणको यस्तो जोखिमपूर्ण अवस्थामा सरकारी पक्ष र अन्य पक्षबाट हुने सार्वजनिक कार्यक्रम रोकिएका छैनन्। आदेशको पालना गराउने र अन्य जिम्मेवार निकायबाट नै स्वास्थ्य मापदण्ड उल्लंघन हुँदै आएको छ। मंगलबार पनि नवलपरासीमा एक यस्तै दृश्य देखिएको छ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज नवलपरासीमा जिल्ला भेला गरेको छ।
समानान्तर कमिटी गठन गर्न आयोजित भेलामा ठूलो संख्यामा नेता-कार्यकर्ताहरु सहभागी छन्। कोभिड-१९ को दोस्रो लहर फैलिएकाले नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने निर्णय गरिसकेको छ। सरकारले ५०० भन्दा बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा जारी गर्न पनि डीसीएमसीलाई अख्तियारी दिइसकेको छ। यस्तो अवस्थामा सरकारी निर्णय विपरीत नवलपरासीमा भेलाको आयोजना गरिएको छ।



लोकपाटी न्यूज

