काठमाडौं। पछिल्ला प्रमाणहरूले बालबालिका कोभिड १९ बाट संक्रमित हुन सक्छन् र एकअर्का तथा वयस्कहरूलाई पनि संक्रमित गर्न सक्दछन् भनेर देखाउँछ। यद्यपि, उनीहरू संक्रमणबाट गम्भीर रुपमा विरामी पर्ने जोखिम कम छ र साना बालबालिकाले ठूलाहरूलाई भाइरस सार्ने सम्भावना कम हुन्छ।
बालबालिकालाई कोभिड १९ को कुनै लक्षण नभएको अवस्थामा पनि सार्वजनिक स्थलमा रहँदा अनुहारमा मास्क लगाएर उनीहरूले कोभिड १९ सार्नबाट रोक्न मद्दत गर्न सक्छन् र आफ्नो परिवार, आफ्नो समुदायसँगै आफ्नो सुरक्षा गर्न सक्दछन्।
हामीले बालबालिकालाई उनीहरूले दैनिक जीवनमा मास्क कसरी लगाउनुपर्दछ भन्नेबारेमा यहाँ सानो सामग्री प्रस्तुत गरेका छौं, जसका माध्यममार्फत् तपाईले आफ्ना बच्चाहरुको जीवनलाई सुरक्षित राख्न मद्दत पुग्नेछ।
मास्कले कसरी काम गर्दछ ?
कोभिड १९ मानिसहरूले कुरा गर्दा, गाउँदा, खाँदा वा खोक्दा बन्ने श्वासप्रश्वासका थोप्लाहरूमार्फत फैलिन्छ। व्यक्तिहरूको शरीरभित्र कुनै पनि लक्षणविना पनि भाइरस रहेको हुन सक्दछ। यसको मतलब तपाईं र तपाईंका बालबालिकाले रोग सार्न सक्नुहुन्छ र तपाईंहरुलाई यो थाहा नहुन पनि सक्दछ। मास्कले कोभिड १९ का छिटाहरु फैलिन नदिई अन्य व्यक्तिमा सर्नबाट रोक्ने काम गर्दछ। मास्कले लगाउने व्यक्तिलाई सासको थोपाहरू लिन र संक्रमित हुनबाट पनि जोगाउन सक्दछ।
मास्क कहिले लगाउनुपर्छ ?
तपाईको बालबालिकाले मास्क लगाउनुपर्छ कि पर्दैन भन्ने कुरा धेरै कुराहरूमा निर्भर हुन्छ। उनीहरूको उमेर, सुरक्षित रूपमा मास्क प्रयोग गर्ने क्षमता र उनीहरू बिरामी भएका कोहीसँगको भौतिक सम्पर्कमा छन् कि छैनन् भन्ने कुरा प्रमुख हुन्छन्। दक्षिण एसियाभरि, केहि सरकारहरूले सार्वजनिक र उमेरमा आधारमा मास्क प्रयोगका थप आवश्यकताहरू निर्धारण गरेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार बच्चाहरुमा पनि उमेर समूहअनुसार मास्क प्रयोग गर्ने फरक–फरक विधि सुझाइएको छ। उमेर समूहअनुसार मास्क यसरी प्रयोग गर्नु राम्रो मानिन्छ।
पाँच वर्षमुनिका बच्चा
सामान्यतया, ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन। यो सल्लाह साना बालबालिकाको सुरक्षा र समग्र हितमा आधारित छ। केही देशहरूले धेरै साना बालबालिकाका लागि मास्क प्रयोगको बारेमा थप स्थानीय मार्गदर्शनहरु जारी गरेका छन्। उदाहरणका लागि, यदि बालबालिका कोही बिरामी भएकाहरुसँग भौतिक रूपबाट नजिक भए, यदि तपाईंको ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क लगाउनु आवश्यक भए उनीहरु सधैं तपाईंले सुपरीवेक्षण गर्न सक्ने गरी प्रत्यक्ष निगरानीमा भएको सुनिश्चित गर्नुपर्दछ।
६ देखि ११ वर्ष
६ देखि ११ वर्षका बालबालिकाले मास्क लगाउनु पर्छ कि पर्दैन भनेर निम्न आधारहरुमार्फत निर्णय गर्नुपर्दछ।
१. कोभिड १९ तपाईंको क्षेत्रमा व्यापक रुपमा फैलिएको छ कि छैन ? तपाईंको बालबालिकाले सुरक्षित र उपयुक्त रुपमा मास्क प्रयोग गर्न सक्दछन् कि सक्दैनन् ? तपाईंको मास्कमा पहुँच छ कि छैन र तिनीहरूलाई धुन र प्रतिस्थापन गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ?
२. बालबालिकाले मास्क लगाइरहेको वयस्कले सुपरीवेक्षण गर्न सक्छन् भने मास्क लगाउन सकिन्छ। तपाईंका बालबालिकाले सुरक्षित रूपमा कसरी मास्क लगाउने, फुकाल्ने र राख्ने तरिका जानेका छन् कि छैनन् भन्ने कुरामा तपाई ढुक्क हुनुहुन्छ भने मास्क प्रयोग गर्न सकिन्छ।
३. तपाईंको बालबालिकाले गम्भीर बिरामी हुने उच्च जोखिममा भएका अन्य व्यक्तिहरूसँग अन्तरक्रिया गरेका छन् कि छैनन् ? उदाहरणका लागि, वृद्ध र स्वास्थ्य समस्या भएका मानिसहरुसँग उनीहरुको संगत छ कि छैन ? यसका आधारमा पनि मास्क लगाउने वा नलगाउने भन्ने कुराको टुंगो लगाउनुपर्ने हुन्छ।
४. मास्क लगाउने कारणले तपाईंको बालबालिकाको व्यक्तिगत सिकाइ र मनोवैज्ञानिक विकासमा हुन सक्ने सम्भावित प्रभावलाई पनि तपाईले विचार गर्नुपर्दछ। तपाईंको बालबालिकाका शिक्षकहरू वा चिकित्सा प्रदायकहरूसँग परामर्श गरेर यो विषयमा निर्णय लिँदा राम्रो हुन्छ।
१२ वर्षमाथिका बालबालिका
१२ वर्ष वा माथिका बालबालिकाले वयस्कहरूले जसरी नै मास्क लगाउनुपर्दछ। यसको अर्थ यदि तपाईंको क्षेत्रमा कोभिड १९ व्यापक रुपमा फैलिएको छ भने उनीहरुले सबै सार्वजनिक स्थानहरुमा मास्क लगाउनुपर्दछ।
अरुबाट एक मिटरको भौतिक दूरी कायम राख्न गाह्रो छ भने उनीहरुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने हुन्छ। उदाहरणका लागि भीडभाड भएको सार्वजनिक स्थानहरूमा वाः उनीहरू भित्री सार्वजनिक ठाउँमा छन् भने त्यस्तो अवस्थामा पनि बालबालिकालाई मास्क लगाउने भन्नुपर्छ।
कुन बेला मास्क लगाउनुपर्दैन ?
त्यतिबेला बालबालिकाले मास्क लगाउनुपर्दैन, जब उनीहरू घरमा छन् र घरका कोही पनि बिरामी भएका छैनन्। उनीहरू अन्य व्यक्तिबाट हरेक समयमा कम्तिमा १ मिटरको दूरी कायम राख्न सक्दछन्।
कुन मास्क प्रयोग गर्ने ?
बजारमा विभिन्न प्रकृतिका मास्क पाइन्छन्। तर, कुन मास्क लगाउने भन्ने कुराले संक्रमणको दरमा फरक पार्दछ। त्यसैले मास्क किन्नुअघि कस्तो मास्क उपर्युक्त हुन्छ भन्ने कुरा राम्ररी जानेको हुनुपर्छ।
१. कपडाको मास्कः– गैह्रचिकित्सकीय मास्कको रूपमा पनि चिनिने कपडाको मास्कहरू प्रायः कपासले बनेका हुन्छन्। तिनीहरू विभिन्न शैली र रंगहरूमा आउँछन् र तिनीहरुलाई धुन र पुनः प्रयोग गर्न सकिन्छ। प्रभावकारी हुनका लागि, तिनीहरूलाई कम्तीमा कपडा तीन तहको बनाउनुपर्दछ। यस्तो मास्क सबै उमेर समूहका मानिसले लगाउनु राम्रो हुने विश्व स्वास्थ्य संगठनको सिफारिस छ।
कपडाको मास्कलाई प्रत्येक प्रयोगपछि साबुन वा डिटर्जेन्टको प्रयोग गरी तातो पानीमा दैनिक रुपमा धुनुपर्दछ। यसरी धोएपछि, मास्कलाई पुनः प्रयोग गर्नुअघि पूर्ण रूपमा सुक्न दिनुपर्छ। कपडाको मास्क महँगो पर्न गएमा तपाईं आफैले आफ्नै घरमा बनाउन पनि सक्नुहुन्छ। तर, त्यस्तो मास्कमा कपडाको तीन तह अनिवार्य चाहिन्छ।
२. मेडिकल मास्कः– सर्जिकल मास्क भनेर पनि चिनिने मेडिकल मास्क नबुनिएका कपडाबाट बनेको हुन्छ। यी सामान्यतः तीन तहका हुन्छन् र स्वास्थ्यकर्मीहरूका लागि डिजाइन गरिएका हुन्छन्।
विश्वव्यापी महामारीको कारण मेडिकल मास्कहरुको आपूर्ति कम भइरहेको छ। त्यसैले केही समूहले मात्र यस्तो प्रकारको मास्क लगाउनुपर्छ भनेर विश्व स्वास्थ्य संगठनले सिफारिस गर्दछ। यसमा स्वास्थ्यकर्मीहरू, ६० वर्षभन्दा बढी उमेरका, अन्तर्निहित स्वास्थ्य समस्या भएका, कोभिड १९ भएका व्यक्तिको हेरचाह गर्ने र कोभिड १९ को लक्षण भएका वा वा पुष्टि भएका वा संक्रमित व्यक्तिहरू पर्दछन्। यसको अर्थ अन्तर्निहित स्वास्थ्य समस्या भएको र कोभिड १९ को लक्षणहरू वा पुष्टि भएको वा जो कोही बिरामीहरुको नजिक छन् भने मात्रै बालबालिकाले यस प्रकारको मास्क लगाउनुपर्छ। मेडिकल मास्कहरू धुन योग्य वा पुनः प्रयोग गर्न योग्य हुँदैनन् र आठ घण्टाको निरन्तर प्रयोगपछि सुरक्षित रुपमा फाल्नुपर्छ।
सही प्रयोग कसरी गर्ने ?
धेरै मास्क वयस्कहरूका लागि डिजाइन गरिएका हुन्छन् र बालबालिकालाई ठीकसँग मिल्दैन। तपाईं आफ्नो बालबालिकाको लागि मास्क किन्दै वा बनाउँदै हुनुहुन्छ, भने यी कुराहरुमा ध्यान दिनुपर्छ।
१. तपाईंको बालबालिकाको मास्कले उनीहरूको मुख, नाक र चिउँडो छोप्नुपर्दछ, र छेउमा कुनै खाली ठाउँ हुनुहुँदैन र उनीहरूको आँखाको दृष्टिलाई छेकेको हुनुहुँदैन।
२. तपाईंका बालबालिकाले मास्क लगाएर छिटो छिटो हिँड्दा र कुरा गर्दा आरामसँग सास फेर्न सक्नुपर्छ।
३. तपाईंको बालबालिकाले मास्क लगाउनुअघि र त्यसलाई हटाएपछि साबुन र पानीले हात धुनुपर्दछ भनेर थाहा पाउनुपर्छ।
के गर्न हुन्छ ?
मास्क लगाएका बालबालिकाले के गर्नु हुन्छ, के गर्नु हुँदैन ? भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ। यसमा पर्याप्त सावधानी अपनाउन जरुरी छ। यसबारेमा निम्न कुराहरु जान्न जरुरी हुन्छ।
१. आफ्ना बालबालिकालाई मास्क लगाउँदा निरन्तर उनीहरूको हात धुन र अरूबाट टाढा बस्न सिकाउनुपर्छ। मास्कले मात्र कोभिड १९ को संक्रमण र प्रसारण रोक्ने छैन। मास्कको प्रयोगसँगै बच्ने अरु उपायहरु संयुक्त रुपमा प्रयोग गरेपछि मात्र यो प्रभावकारी हुन्छ।
२. तपाईंको बालबालिकालाई मास्क लगाउँदा उनीहरुले निरन्तर पालना गर्नुपर्ने उपायबारे जानकारी भएको हुनुपर्छ। उनीहरूले कम्तीमा ४०–६० सेकेण्डसम्म बारम्बार साबुन र पानीले वा २०–३० सेकेन्डसम्म सेनिटाइजरको प्रयोग गरी हात गरेको हुनुपर्छ।
३. अन्य व्यक्तिहरुबाट कम्तिमा एक मिटर दूरी कायम राख्ने र भीड भएको ठाउँहरूबाट टाढा रहेको हुनुपर्छ। खराब भेन्टिलेसन भएको भित्री स्थानहरु (इनडोर) बाट टाढै राख्नुपर्छ। तपाईं बाहिर भएको समयमा मास्क भण्डार गर्न सकिने झोला बच्चाको साथमा राखिएको हुनुपर्छ।
४. यदि तपाईं र तपाईंको परिवारले मास्क खोल्ने र तथा दिनको समयमा पुनः प्रयोग गर्ने योजना बनाएको छ भने तिनीहरूलाई भण्डार गर्न सफा र पुनः सिल गर्न मिल्ने झोला बोक्नुपर्छ। त्यसका लागिः तपाईंको परिवारमा प्रत्येक मास्कको लागि छुट्टाछुट्टै झोला प्रयोग गर्नुपर्छ। झोलामा मास्क छिराउँदा वा निकाल्दा, यसलाई इलास्टिक लुप वा डोरीमा समात्नुपर्छ। मास्कको सतहमा छुनु हुँदैन। मास्क फेरि लगाउनुअघि हात धुन बिर्सिनु हुँदैन।

के गर्न हुँदैन ?
मास्क लगाउँदा केही सावधानी अपनाउनुपर्ने हुन्छ। अन्य सुरक्षा सतर्कताका साथै मास्क लगाउँदा कम्तिमा ६ गल्ती गर्नु हुँदैन। १. मास्कलाई नाकमुनि नतान्ने, २. आफ्नो चिउँडो खुला नछोड्ने, आफ्नो चिउँडोमुनि मास्क नतान्ने, ४. माक्स लगाउँदा त्यसलाई नछुने, ५. खुकुलो मास्क नलगाउने र ६. फोहोर, बिग्रिएको वा भिजेको मास्क नलगाउने। बच्चाका लागि कम्तिमा यी कुरामा ध्यान दिनुपर्छ।
एक जनाले लगाएको मास्क अर्कोले प्रयोग गर्नु हुँदैन। त्यसरी एउटाले लगाएको मास्क अर्कोले लगाउँदा भाइरस सर्न सक्छ। तपाईंको बालबालिकासँग आफ्नै मास्क भएको र अरूसँग मास्क नसाटेकोे सुनिश्चित गर्नुपर्छ। बच्चाले मास्क साटेर लगाउन सक्ने भएकाले विशेष ख्याल गर्नुपर्छ।
व्यायाम गर्दा मास्क लगाउनु हुँदैन। बालबालिकाले (र वयस्कहरू) खेल्दा वा व्यायाम गर्दा मास्क लगाउनु हुँदैन। पसिनाले मास्कलाई भिजाउन सक्छ र सास फेर्न गाह्रो हुनुका साथै कीटाणुहरूको वृद्धि सजिलो हुन्छ। तपाईंका बालबालिकालाई घर वा बाहिरका लागि मास्कको आवश्यक नपर्ने गरि अरूबाट सुरक्षित शारीरिक दूरी कायम गर्न सकिने व्यायाम गर्नको लागि ठाउँ छनौट गर्नुराम्रो हुन्छ।
प्रोत्साहन कसरी गर्ने ?
कोभिड १९ ले संसारभर नै तनाव, चिन्ता र कठिनाइ सिर्जना गरी पारिवारिक जीवनलाई उदास बनाएको छ। धेरै बालबालिकाका लागि मास्कले यस्तो भावनाहरुलाई थप्न सक्छ। विशेष गरी, ससाना बालबालिकाका लागि, मास्क लगाउनु अचम्म र रीस उठ्दो हुन सक्दछ।
बच्चाले सजिलै मास्क लगाउन मान्दैन। उसका लागि तपाईले विभिन्न तरीकाको प्रयोगमार्फत् मास्क लगाउन प्रोत्साहित गर्नुपर्छ। मास्क लगाउन प्रोत्साहित गर्ने केही तरीका यस्ता हुन सक्छन्ः
१. इमानदार र सहयोगी हुनुहोस्। मास्क हामीमध्ये कसैका लागि अति रमाइलो बस्तु होइन भनेर पहिचान सिकाउनुहोस्। तर मास्क लगाएर हामीले बृद्ध मानिसहरुसहित आफू वरपरका मानिसहरूलाई कसरी सुरक्षित राख्न मद्दत गर्न सक्दछौं भनेर वर्णन गर्नुहोस्। मास्क लगाउनुले हामी एक अर्काको ख्याल राख्दछौं भनेर शिक्षित गर्नुहोस्।
२. कोभिड १९ लाई रोक्न कठिन मेहनत गर्ने धेरै विशेषज्ञहरू छन्। तर उनीहरूलाई हाम्रो मद्दत चाहिन्छ। यसका लागि हामीले हरेक प्रकारको सावधानी अपनाउनुपर्दछ भनेर उनीहरूलाई सम्झाउनुहोस्।
३. मास्क लगाउने बानी विस्तारै विकास हुँदैछ। त्यसैले, बालबालिकालाई नियमित रुपमा सम्झाइरहनुहोस् र तपाईंको आफ्नै व्यवहारलाई उदाहरण बनाउनुहोस्। आफूले लगाएको मास्क देखाएर उनीहरुलाई मास्क लगाउन प्रोत्साहित गर्नुहोस्।
४. मास्कलाई रमाइलो बनाउनुहोस्। एउटा मास्क वा कपडा छान्ने कामलाई रमाइलो बनाउने प्रयास गर्नुहोस् र तपाईंको बालबालिकालाई यो रमाइलोमा सकेसम्म संलग्न गराउनुहोस्। याद गर्नुहोस्, तपाईंका बालबालिकाले उनीहरूको मास्कको रूप र डिजाइन जति मन पराउँछन्, तपाईं वरिपरि नहुँदा पनि उनीहरूले माक्स लगाउने सम्भावना त्यति बढी हुन्छ।
(यो सामग्री युनिसेफको वेभपोर्टलको सहयोगमा तयार पारिएको हो।)



लोकपाटी न्यूज

