पढेको बिर्सने बानी छ ? यी हुन् सम्झिने १२ सुत्र

book study
लाेकपाटी न्यूज

काठमाडौं । हामी नेपालीहरु पढ्न त पढ्छौं । तर, पढाइमा कुनै योजना छैन, अन्धाधुन्ध मात्र । अन्धाधुन्ध पढिने पढाइले हाम्रो समय मात्र बर्वाद गर्दैन, पढेको कुरा भुल्ने सम्भावना पनि त्यति नै हुन्छ ।

हामीले योजना बनाएर पढ्यौं भने धेरै कुरा सिक्न सकिन्छ, सम्झिन सकिन्छ । यसले हाम्रो पढाइलाई दीर्घकालीन बनाउँछ । यहाँ हामीले पढेको सम्झिने १२ सुत्र उल्लेख गरेका छौं ।

१. अण्डरलाइन गर्ने : कतिपयको बानी पढ्दै अण्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्कोपटक आफूलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अण्डरलाइन गरेको विषय दोहोर्याउँदा सम्झन सजिलो हुन्छ ।

२. आफैँ नोट बनाउने : धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ । शिक्षकले भनेको केही प्वाइण्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधी सजिलो हो । आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न ।

३. लेख्ने पूर्वाभ्यास : पढेर एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन । परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ चोटी अभ्यास गर्दा सजिलो हुन्छ । घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ ।

४. सर्टकट बनाएर पढ्ने : कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन् । सम्झन अप्ठ्यारो हुन्छ । इतिहास, विज्ञान, अर्थशास्त्र र गणितका सूत्र सम्झन सर्टकट बनाउँदा सजिलो हुन्छ । जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा पोइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ । यसरी पढ्दा निकै सहज हुन्छ ।

५. प्रयोगात्मक अभ्यास : पढ्ने विषय पूरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ । मानौँ तपाईं नेपालीको विद्यार्थी हुनुहुन्छ भने कथा, कविता कसरी लेख्ने अभ्यास गर्न घोकेरभन्दा अरुले लेखेका कथा कविताको किताब पढ्दा उपयोगी हुन्छ । हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न ।

६. प्रश्नोत्तर गर्ने : साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरुमा हुन्न । सानो टिम बनाउनुस्, फर्मुला, पोइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्नुस्, त्यसो गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ । आफ्नो कमी कमजोरी भएको विषयमा थप मेहेनत गर्न सहज हुन्छ ।

७. साथीहरुसँग पर्याप्त छलफल गर्ने : पढ्दापढ्दै कुनै टपिक्स बुझिदै बुझिएन भने त्यस्तो अवस्थामा साथीसँग सल्लाह गर्नु उत्तम हो । समूह बनाएर आ–आफूले रुचीको विषयमा छलफलगर्दा सजिलो हुन्छ । दिनैपिच्छे फरक–फरक विषयमा छलफल गर्दा अप्ठ्यारा विषय समेत सहज बन्छन् ।

८. सिम्बोल दिने : पढेका कुरालाई याद गर्नलाई संकेत पनि दिन सकिन्छ । जस्तो विभिन्न फर्मुलालाई विभिन्न कलरको नामाकरण पनि गर्न सकिन्छ ।

९. टाइमटेबल बनाउने : बोझ लिएर पढ्दा जति पढे पनि याद हुँदैन । कतिपयले पढ्न नभ्याएको पनि बताउँछन् । पढ्न समय व्यवस्थापन गर्नैपर्छ । पढ्ने समयलाई निश्चत समय छुट्याउनुपर्छ । कुन विषय कुन बेला पढ्ने समय छुट्याएर पढ्ने गर्नुपर्छ ।

१०. चार्ट बनाएर पढ्ने : धेरैजसो पढाइमा टप गरेका ब्यक्तिको पढाई शैली हेर्दा उनीहरुले चार्ट बनाएर पढ्ने गरेको देखिन्छ । जस्तै करबारे पढ्दै हुनुहुन्छ भने करको परिभाषाका प्रकारलाई चार्ट बनाएर पढ्दा सहजै सम्झन सकिन्छ ।

११. पुस्तकको सिलसिलेबार मिलाउने : हामी प्रायःजसो जे भेटियो, त्यही पढ्ने गर्छौं । तर, त्यसो गर्नु हुँदैन । कुनै पनि पुस्तक पढ्दा त्यसको लेबल हेरेर पढ्नुपर्छ । १० वटा किताब पढेपछि बुझिने विषयवस्तु पहिल्यै पढियो भने त्यसको अर्थ हुँदैन । त्यसैले कुनपछि कुन पुस्तक पढ्ने भन्ने छुट्याउनुपर्छ ।

१२. बोलेर पढ्ने : साथीहरुसँग भएको बेला बोलेर पढ्दा अरुलाई डिस्टर्व त हुन्छ । तर, एकान्तमा भएको बेला सानो स्वरमा गुन्गुनाएर पढ्नु राम्रो हुन्छ । यसरी पढ्दा क्यालोरी पनि खर्च हुन्छ र पढेको कुरा बढी सम्झिइन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्