काठमाडौं। प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार धरापमा परेको छ। केन्द्र सरकार पनि कुनैपनि बेला अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने सूचनाका आधारमा रणनीतिक तयारीमा रहेको छ।
बालुवाटारमा प्रदेश र संघीय संसादमा फ्लोर क्रस गर्नसक्ने माधव नेपाल समूहका सांसदहरुको सूची पुगेको छ। अब उनीहरुलाई छानी छानी कारबाही गर्ने या अर्को कुनै कठोर कदम चाल्नेबारे छलफल चल्न थालेको छ।
गण्डकी प्रदेशमा १३ वैशाखमा विशेष अधिवेशन डाकिएको छ। अब मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले अविश्वासको प्रस्तावको सामना गर्नुपर्नेछ। गुरुङ्गविरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा वा जनता समाजवादी पार्टी एक भएमा अविश्वासको प्रस्ताव पारित हुनेछ। गुरुङ्ग अविश्वासको प्रस्ताव असफल बनाउन सक्रिय भइसकेका छन्।
काँग्रेस र माओवादी केन्द्रमात्र अविश्वासको प्रस्तावको पक्षमा आएमा गुरुङ्गविरुद्ध फ्लोर क्रसको सम्भावना उत्तिकै छ। कर्णालीमा भएजस्तै फ्लोर क्रसको सम्भावनालाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पनि औल्याएका छन्। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्तावको सामना गर्नुपर्नेछ।
उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने जसपा सांसद नै मन्त्री बनाइएका छन्। अब निर्णयार्थ अविश्वासको प्रस्ताव प्रस्तुत भई मतदान गर्दा फ्लोर क्रसको सम्भावना उत्तिकै छ।एमालेभित्र पोखरेललाई धक्का दिन माधव नेपाल समूह सक्रिय भएको छ। यसकारण पनि फ्लोर क्रसको सम्भावना छ।
बागमती प्रदेशमा पनि कुनैपनि बेला अविश्वासको प्रस्ताव आउने गरी तयारी भएको छ। काँग्रेस र माओवादी केन्द्र अविश्वासको प्रस्ताव ल्याउने तयारीमा रहेका छन्। अविश्वासको प्रस्ताव आएमा त्यहाँ पनि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध फ्लोर क्रसको सम्भावना छ। बागमती प्रदेशमा एमालेको स्पष्ट बहुमत छ।
प्रदेश १ मा पनि एमालेको स्पष्ट बहुमत छ। तर, मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावका लागि माधव नेपाल समूहले अन्य दललाई प्रोत्साहित गरिरहेका छन्। यसकारण पनि त्यहाँ अविश्वासको प्रस्ताव आउन सक्छ। त्यस्तो प्रस्ताव आएमा फ्लोर क्रसको सम्भावना छ।
केन्द्र सरकारमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँदैछ। सम्भवत केही दिनमै विशेष अधिवेशनको समावेदनसहित अविश्वासको प्रस्ताव दर्ता हुन सक्छ। काँग्रेस र जसपाले मिलेर समावेदनसहित अविश्वासको प्रस्ताव दर्ता गरेमा माओवादी केन्द्र पनि पक्षमा आउने निश्चित नै छ। त्यतिबेला जसपाको सबै सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान नगरे फ्लोर क्रस हुनसक्छ।
फ्लोर क्रसलाई दृष्टिगत गरी ओलीले विरोधी सांसदहरुलाई कारबाहीका लागि तयारी गरेका छन्। उनले आइतबारनै कारबाहीको निर्णय लिन खोजेका थिए। तर, केही निकटस्थहरुको सुझावका आधारमा कारबाही स्थगित गरेका छन्। माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसालसहित सांसदहरुलाई ओलीले कारबाही गर्न खोजेका छन्।
फ्लोर क्रसको सम्भावनाहरुबारे बालुवाटारमा रिपोर्टिङहरु भइरहेका छन्। विश्वस्त स्रोतका अनुसार फ्लोर क्रसका सम्भावित धेरैलाई कारबाही गर्नुपर्ने हुनसक्छ। त्यस्तो कारबाही प्रदेश सांसदहरुलाई पनि गर्नुपर्ने हुनसक्छ।



लोकपाटी न्यूज

