काठमाडौं। नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारबाट किसान र गरिब परिवारले राहतको महसुस नगरेको बताएका छन्। मनमोहन अधिकारीको २२ औं स्मृति दिवसको अवसरमा एक सन्देश जारी गर्दे नेपालले सरकारले विसंगति र विकृतिलाईमात्र प्रश्रय दिने काम गरेको आरोप लगाएका हुन्।
सन्देशमा नेपालले भनेका छन्, ’अहिले नेपाली जनताले ठूलो मौका दिएको कम्युनिष्ट सरकारबाट विकृति विसंगतिहरुलाई प्रश्रय दिने काम हुनु र सामान्य किसान र गरीव परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको छ।’
नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री, नेकपा एमालेका संस्थापक अध्यक्ष अधिकारीको स्मृति दिवसको अवसरमा उनले मुलुक र कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै नेपालले श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन्।
’सबैले सधैं सम्झिने २०५१ सालको ९ महिने सरकारको नेतृत्व गर्दा उहाँको नेतृत्वमा हामीले अवलम्वन गरेका नीतिको दीर्घकालीन परिणामले जनतामा कमरेड मनमोहन एवम् नेकपा (एमाले) प्रतिको श्रद्धा कहिल्यै नमेटिने गरी बसेको छ,’ नेपालले भनेका छन्, ’उहाँ शालिन र बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो। जीवनभर ‘सादा जीवन र उच्च विचार’ अंगीकार गर्नुभएका कमरेड मनमोहनले आफ्नो जीवन राष्ट्रलाई सुम्पनुभयो।’
उनले भनेका छन्, ’मनमोहन स्मृति दिवसका अवसरमा उहाँले राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट एकता र देश विकासमा पु¥याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछु।’
१९७८ सालमा काठमाडौंमा जन्मिएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो।



लोकपाटी न्यूज

