काँग्रेस पदाधिकारी बैठक सभापति देउवा निवासमा जारी

लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ। बैठक दिउँसो ३ बजेपछि बसेको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सोमबार बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा र १४ औँ महाधिवेशनको विषयमा छलफल गर्न काँग्रेसको पदाधिकारी बैठक आज सभापति देउवा निवास बसेको हो। बैठकमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन्।

पौडेलका अनुसार बैठकमा १४ औँ महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा र केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल केन्द्रित छ। माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि उक्त स्थानमा जेठ ६ गतेका लागि उप निर्वाचनका मिति तय गरिएको छ।

यस्तै पार्टीका शीर्ष नेता सम्मिलित बैठक सोमबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकको एजेन्डा तय गर्ने छ । बुढानीलकण्ठको बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टै छलफल भएको थियो। काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दैछ।