काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल देशव्यापी लकडाउन नहुने बताएका छन्। बालुवाटारमा आइतबार बिहान बसेको नेकपा एमालेको बैठकपछि सञ्चारकर्मीसँग मन्त्री ज्ञवालीले तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताएका हुन्।
ज्ञवालीले भने, ‘देशव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौँ, केही ‘हटस्पट’ मा भने स्थानीय तवरबाटै लकडाउनको निर्णय हुन सक्छ।’ एमालेको केन्द्रीय समिति बैठकमा उनले अस्पतालहरुमा अक्सिजन अभाव हुन सक्ने सम्भावना रहेकोले अक्सिजन प्लान्टहरुलाई पूर्ण क्षमतामा चलाउन, खोप अभियानलाई बिस्तार गर्न आवश्यक पहल गर्ने निर्णय भएको बताए।
विदेशबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्न स्थानीय तहहरुसँग पहल गरिने उनले बताए। उनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको सम्बन्धमा पनि बैठकमा छलफल भएको बताए।



लोकपाटी न्यूज

