काठमाडाैँ। गोरखाको बारपाक केन्द्रविन्दु भएको ६ वर्षअघि भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गल्र्याम गुर्लुम ढल्यो। शनिवारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए। कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौं मानिस घाइते भए। उपत्यकाको एक महत्त्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनर्निर्माण गर्न ६ वर्ष लाग्यो। ६ वर्षमा भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनेको छ।
विक्रम संवत् २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो। विक्रम संवत् २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनर्निर्माण शुरू गरेको थियो। पहिलोपटक प्रधानमन्त्री बनेका बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान शुरू गरेका थिए।
भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ। अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ। यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित ४ तल्ले भूकम्प र टक्सारसम्बन्धी संग्रहालय निर्माण भइरहेको छ। यहाँ ‘फूड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ पनि बन्ने प्राधिकरणले जनाएको छ। धरहरा क्षेत्रमा विश्रामस्थल सहितको अत्यन्तै मनमोहक बगैंचा तथा संगीतमय फोहरा समेत बन्नेछ । जसले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्नेछ।
धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए। धरहराको शनिवार बिहान ११ः०० बजे प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी पनि उनले दिए। धरहरा क्षेत्रमा ३ तले भूमिगत पार्किङको व्यवस्था गरिने छ। जहाँ ४०० गाडी र ७०० मोटरसाइकल पार्किङ गर्न सकिने छ। भीमसेन थापाले विक्रम संवत् १८८२ सालमा बनाएको धरहरा (भीमसेन स्तम्भ) लाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ । धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण हुन लागेको छ।
सुन्धारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ। धरहरा र संग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण गरिने योजना रहेको सचिव गेलालले सुनाए। धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि २ तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भूइँतलासहित २३ तला हुनेछ। समग्रमा धरहरा २५ तलाको हुने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए। धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत ३ अर्ब ४८ करोड रहेको जानकारी पनि उनले दिए।
जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ। भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ। धरहराभित्र २ लिफ्ट राखिएको छ। लिफ्टमा १ पटकमा १० जनाले यात्रा गर्न सक्ने छन्। लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ। धरहरामा फलामको भर्याङ समेत जडान गरिएको छ। धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २० औं तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । बाइसौं तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ। धरहरामुनिको २ तले भूमिगत संरचनामा २ वटा ‘विद्युतीय स्वचालित भर्याङ’बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ।
विक्रम संवत् १८८२ सालमा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाएको इतिहास छ । विक्रम संवत् १९१३ सालमा बज्र (चट्याङ) ले भत्केपछि विक्रम संवत् १९२३ सालमा धरहराको जीर्णोद्धार गरिएको थियो। विक्रम संवत् १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा २ वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनर्निर्माण गरिएको थियो। पुनर्निर्माणका क्रममा ११ तले धरहरालाई ९ तलामा सीमित गरिएको थियो।
यो धरहराभन्दा अघि विक्रम संवत् १८८१ सालमा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गरेका थिए । त्यसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो। विक्रम संवत् १८९० सालमा भत्किएपछि लगनटोलको धरहरा पुनर्निर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ।



लोकपाटी न्यूज