काठमाडौँ। यतिबेला प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दोस्रो चरणको वार्तामा बस्दा पनि कुरा नमिलेपछि आ–आफ्नै सुरमा फर्किएका छन्। बिहीबारको वार्तापछि सम्बन्धमा थप दरार आएको एमाले वृत्तमा चर्चा छ।
तर, नेपालसँग सधैं असहिष्णु बनेका ओली कसरी वार्ताका लागि तयार भए ? यो वार्ताको माहोल कसरी बन्यो त ? एमालेका एकथरी नेताहरू यो वार्ता प्रधानमन्त्री ओलीले एमालेलाई अझै बलियो बनाउन गरिरहेको बताएका छन् भने अर्काथरी एमालेकै नेताहरू ‘कर्णाली फ्लोर क्रस दोहोरिने डर’ले वार्ता सुरु गरिएको बताउँछन्।
‘कर्णालीमा फ्लोर क्रस भएपछि काठमाडौँमा पनि त्यही दोहोरिन्छ कि भन्ने डर केपी ओलीलाई छ, त्यही भएर हतार हतार संसद अधिवेशन अन्त्य गरे, अहिले त्यही डरबाट वार्ताको मञ्चन भएको छ,’ एमालेभित्र नेपालनिकट मानिएका एक नेताले भने।
केही दिनअघि कर्णाली प्रदेश सभामा त्यहाँका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेभित्रका नेपालनिकट तीन र ओलीनिकट एक सांसद गरी चार जनाले फ्लोर क्रस गरेर शाहीका पक्षमा मत दिएका थिए। माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीको पद सोही कारणले जोगिएको थियो भने फ्लोर क्रस गर्ने चारै जना प्रदेश सभाका सांसद अहिले मन्त्री बनेका छन्।
‘प्रतिनिधि सभामा पनि कर्णाली जस्तै होला र कांग्रेस, माओवादी मिलेर सरकार बनाउलान् भन्ने डर एकातिर छ, अर्कातिर जसपाको पूरै वा आधा शक्ति आफ्नो पक्षमा तान्दासमेत अप्ठ्यारो हुने स्थिति देखेरै ओलीले वार्ताको दृश्य देखाइरहेका छन्,’ नेपालनिकट ती नेता भन्छन्।
अर्कातिर बिहीबार मात्रै नेपाल समूहका शीर्षमध्येका १५ नेताले एमाले विभाजनको डिलमा पुगेको भन्दै एकताको अपील गरेका छन्। पत्रमा ‘नेकपा एमालेलाई विभाजन गर्न पार्टी अध्यक्ष स्वयम् नै सुनियोजित रूपले अगाडी बढिरहेको’ भनिएको छ।
मङ्गलबार मात्रै ओलीले नेपाल समूहका २७ जना सङ्घीय सांसद र पाँच प्रदेश सांसदलाई पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न रहेको भन्दै किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए। सो स्पष्टीकरणको जवाफ ७ दिनभित्र बुझाउन भनिएको थियो।
बुधबार बालुवाटारमा नेता नेपालनिकट युवा नेता योगेश भट्टराई प्रधानमन्त्री ओलीलाई भेट्न पुगेपछि ओलीले वार्ताका लागि पहल गर्न भट्टराईलाई भनेका थिए भने त्यहीबाट नै ओलीले नेपाललाई फोन गरेपछि वार्ताको टुङ्गो लागेको थियो।
संसद् विघटनको घटना भएबाट प्रधानमन्त्री ओली र नेता नेपालबीचको सम्बन्ध बिग्रिएको थियो। त्यसपछि नेकपाको एकता सर्वोच्च अदालतले भङ्ग गराएपछि समेत दुई नेताबीच संवादहीनताको स्थिति थियो। यसअघि नेता नेपालले बालुवाटारमा हुने पार्टीका बैठकमा सहभागी नहुने भनेपछि पार्टीको बैठक नै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएका थिए।
शुक्रबार एमालेको केन्द्रीय समिति बैठक बस्दैछ। बैठकमा नेपाल समूहका नेता र सांसदहरुमाथि हुने कार्वाहीबारे छलफल हुने बताइएको छ। बिहीबारको भेटमा ओलीले नेपाललाई शुक्रबारको बैठकपछि थप कठोर हुने चेतावनी दिइएको बताइन्छ।
तर, नेपाल समूहका सबै सांसदहरुलाई कार्वाही गर्न ओलीका लागि सहज भने छैन। तत्काल उपनिर्वाचन नहुने भएकाले ओलीले जुन सांसदहरुमाथि कार्वाही गर्नेछन्, त्यसले एमालेको सिटसंख्या घट्नेछ। एमालेको सिटसंख्या घट्दा कांग्रेस र माओवादीलाई अविश्वासको प्रस्ताव दर्ता गर्न सजिलो हुने भएपछि ओलीले नेपाल समूहका सांसदहरुलाई एक्लाएक्लै भेटेर आफूतिर तान्ने प्रयासलाई जारी नै राखेका छन्।



लोकपाटी न्यूज

