काठमाडौं। नेकपा विभाजनपछि कतै नलागेका र सर्वोच्चको फागुन २३ को फैसलापछि सुषुप्त अवस्थामा रहेका एमाले उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीसँग भेटेका छन्। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनले पार्टी एकताका लागि लिइएको पहलकदमीले आफू खुसी भएको बताएका थिए।
उसो त बुधबार प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि नेपालले पनि गौतमसित परामर्श गरेका थिए। गौतमसँगको भेटमा पनि ओलीले नेपालसँगको छलफल त्यति सकारात्मक नभएको बताएका थिए। गौतमले भने सकेसम्म एक हुनै सुझाव दिएको उनीनिकट स्रोतले बतायो।
एमाले मुख्य सचेतक विशाल भट्टराईका अनुसार भेटपछि गौतमले केपी ओलीसँगको आफ्नो सम्बन्ध जमानादेखिको भएको र अटुट रहने बताएका छन्। ‘केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो। तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको होइन, जमानादेखिको हो र अटुट रहिरहनेछ,’ भट्टराईले उल्लेख गरेका छन्। पार्टी एकताका लागि अभियान चलाइरहेका गौतम पछिल्लो समय भने छायामा छन्।
प्रधानमन्त्री ओलीको विसर्जनवादी कदमका कारण पार्टी एकता टुट्न लागेको भन्दै खनाल–नेपालपक्षीय १५ नेताले एकताका लागि कार्यकर्तालाई अपिल गरेका छन्। नेकपा स्थापना दिवसका अवसरमा बिहीबार अपिल जारी गर्दै उनीहरूले आफूहरूलाई एमालेमा रहन नदिन अनेक दाउपेच गरिएको बताएका छन्। ‘फागुन २८ को गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यही देखाउँछ। तर हामी पार्टी एकता जोगाउन चाहन्छौं, त्यसैले हामीले नेकपा (एमाले) को एकतालाई बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं भनेका छौं,’ नेताहरूको अपिलमा छ, ‘त्यसका निम्ति फागुन २८ र तत्पश्चात् भएका कथित बैठक र तिनका अवैध निर्णय सबै रद्द गरिनुपर्छ र २०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो, त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्छ । त्यसो भयो भने नेकपा (एमाले) को एकता जोगिन्छ।’
एमालेको एकता जोगिए कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिने उनीहरूको भनाइ छ । ‘कमरेड केपी ओलीले हाम्रो पार्टी नेकपा एमालेलार्ई जुन दिशामा लैजाँदै हुनुहुन्छ, त्यो पार्टीको विभाजन र विघटनको दिशा र अन्ततः कम्युनिस्ट आन्दोलनकै विसर्जनको दिशा हो। यसरी पार्टी अध्यक्षका गलत वैचारिक तथा सैद्धान्तिक दिशा र उहाँको व्यक्तिवादी अहंकारविरुद्ध उभिनु, त्यसको सामना गर्नु र पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनु हरेक पार्टी सदस्य, शुभचिन्तक र समर्थकको ऐतिहासिक कर्तव्य हुन गएको छ, हामीले चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पार्टीको एकता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि संगठित अभियान सुरु गरेका छौं,’ अपिलमा छ, ‘पार्टी अध्यक्षसँग अनेकौं विषयमा हाम्रा असहमति छन् र हामीसँग उहाँका पनि अनेक असहमति हुन सक्छन्। जसका बारेमा पार्टी केन्द्रीय कमिटीको विधिवत् बैठकबाट समाधान गर्न सकिन्छ। त्यसका लागि २०७५ जेठ २ को बिन्दुबाट पार्टी जीवन आरम्भ गर्नुपर्छ भन्ने हाम्रो माग हो, दाबी हो।’
उनीहरूले ओलीको व्यक्तिवादी तथा विसर्जनवादी कदम तथा अदालतले न्यायिक दायरा नाघेर गरेको निर्णयले पार्टी विभाजित भएको बताएका छन्। ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका व्यक्तिवादी तथा विसर्जनवादी कदमहरूले आफैंले निर्माण गरेको संविधानमाथि आक्रमण गरेर संसद् विघटन गर्नुभयो, पार्टी एकतालाई भत्काउनुभयो र संसद्को बहुमत गुमाउनुभयो। र, अदालतले न्यायिक दायरा नाघेर गरेको राजनीतिक निर्णयले एकीकृत पार्टीलाई विभाजन गरेपछि बाँकी रहेको नेकपा एमालेलाई समेत विभाजन गर्न र कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्न पार्टी अध्यक्ष स्वयं नै सुनियोजित रूपले अगाडि बढिरहनुभएको छ,’ अपिलमा छ, ‘राजनीतिक घटना र कारणलाई हेर्दा नवौं महाधिवेशनले नीति र नेतृत्वमा गरेका विरोधाभासपूर्ण निर्णयको परिणामका रूपमा आज पार्टीले यो दुर्भाग्य बेहोर्दै छ भन्ने स्पष्ट छ।’



लोकपाटी न्यूज

