नयाँ कमिटी बनाउँछौं, संगठन बिस्तार गर्छौं : घनश्याम भुसाल

GhanaShyam_Bhusal
लोकपाटी न्यूज

काठमाडौं। अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिचको छलफलले कुनै परिणाम नदिएपछि नेपाल समूहका नेताहरु समानान्तर कमिटीलाई व्यवस्थित गर्ने सोंचमा पुगेका छन्। अध्यक्ष ओलीलाई एमालेलाई एकतापूर्वकै अवस्थामा फर्काउन नमानेपछि एकताका निम्ति प्रयास गर्दै आएको नेपाल समूहले आफ्नै बाटो हिँड्ने तयारी थालेको हो।

आफ्ना निकटस्थहरूसँगको छलफलमा बिहीबार बिहान पनि नेता नेपालले जेठ २ लाई नै एकताबद्ध एमालेको बटमलाइन बनाउने बताएका थिए। तर त्यही कुरामा ओलीले असहमति जनाएपछि नेपालले ओलीसँग अबको संवाद अनिश्चित रहेको बताएका छन्। नेपाल समूहले गत चैत पहिलो सातादेखि जारी राखेको आफ्नो समानान्तर गतिविधिलाई निरन्तरता दिने निधो गरिसकेको छ।

‘हाम्रो काम छँदैछ, अब कमिटीहरू बनाउँछौं, संगठन विस्तार गर्छौं र अगाडि बढ्छौं,’ उपमहासचिव घनश्याम भुसालले भने, ‘जेठ २ मै जाऊँ भन्नुको अर्थ त ओलीले यो पार्टीलाई आफ्नो जिम्दारी बनाएको कुराको विरोध हो। तर उहाँले त्यही अस्वीकार गर्दा व्यक्तिगत रूपमा पनि मान्छेहरूले आत्मसमर्पण गरेर ओलीको रैती हुन स्वीकार गर्ने भन्ने प्रश्न आयो नि, हामी त्यसो हुन दिन्नौं।’

बालुवाटार फर्किएपछि अध्यक्ष ओलीले पनि आफ्ना निकटस्थहरूसँग भेटबारे ब्रिफिङ गरेका थिए। उनको ब्रिफिङ सुनेका नेताहरूले पनि छलफल हुनुबाहेक अरू केही पनि कुरा सकारात्मक नभएको बताए। ‘हामीले एकताबद्ध पार्टीका लागि प्रयास गरिरहने हो, दुई दिन निरन्तर बाहिर गईगई छलफल गर्नु भनेको पार्टी एकताका लागि धेरै सकारात्मक कुरा हो,’ ओलीको ब्रिफिङ सुनेका एक नेताले भने, ‘तर माधव कमरेड त वार्तासार्ता गरेर जनकपुर जानुभयो। यहाँ यस्तो छ, पार्टीमा स्पष्टीकरण सोधिएको छ। भोलि बैठक छ, उहाँ जनकपुरतिर चल्दिनु हुन्छ। तपाईं आफैं भन्नुस् न, पार्टी एकताका लागि को जिम्मेवार छ ?’