काठमाडौं। प्रधानमन्त्री तथा नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता भएको हो।
गौतमले बिहीबारको डिनर प्रधानमन्त्री निवासमै लिएका हुन्। भेटघाटका क्रममा नेता गौतमले प्रधानमन्त्री ओली प्रधानमन्त्री तथा पार्टी अध्यक्ष भएपनि उनीसँगको आफ्नो सम्बन्ध पदको कारणले नभई जमानादेखिको रहेको र सम्बन्ध अटुट रहिरहने बताएको नेकपा(एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले सामजिक सञ्जाल फेसबुक मार्फत् जानकारी दिए।
भट्टराईले लेखेका छन् –‘सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसँगको सम्बादपछि उहाँले भन्नुभो, केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा(एमाले) को अध्यक्ष हो तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ।’
प्रमुख सचेतक भट्टराईले अब बामदेव गौतम के गर्नुहुन्छ भन्ने जिज्ञासाको जवाफ यही भनाईमा खोज्नुपर्ने पनि फेसबुकमा उल्लेख गरेका छन्। भेटवार्तामा एमाले प्रमुख सचेतक विशाल भट्टराईसहित कानूनमन्त्री लीलानाथ श्रेष्ठ पनि सहभागी रहेका थिए।



लोकपाटी न्यूज

