ओलीलाई नेपालको जवाफ : तपाईंमा दृष्टि दोष छ

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा सात बुँदे जवाफ फर्काएका छन्। स्पष्टीकरणमा नेता नेपालले ओलीलाई मर्यादा बिर्सिएर शब्द प्रयोग गरेको जवाफ फर्काएका छन्। ओलीले सोधेको स्पष्टीकरणमा भाषा मर्यादाहीन र उत्तेजक भएको नेपालको जवाफ छ।

आफूले कुनै पनि अनुचित कार्य नगरेको उनले भनेका छन्। संकिर्ण गुटगत चिन्तनमा लागेर मर्यादाहीन भाषा प्रयोग गरेको नेता नेपालको जवाफ छ। ‘तपाईंले स्पष्टीकरणका नाममा प्रयोग गर्नुभएका शब्द, वाक्य र आरोपहरु कति झुठा, मर्यादाहीन, उदण्ड र उत्तेजक थिए त्यसको हेक्का राख्नुभएको भए मैले त्यस्ता अनुचित कुराहरुको जवाफ दिएकोलाई स्वाभाविक ठान्नुहुन्थ्यो होला। तर तपाईंमा रहेको दम्भ र संकर्ण गुटगत चिन्तनले तपाईंलाई त्यसो गर्न दिँदैन भन्ने कुरा बुझ्न सकिन्छ,’ उनले भनेका छन्।

कर्णाली प्रकरणमा आफ्नो संलग्नता देख्नु गुटगत दृष्टिको परिणाम रहेको उनले बताए। ‘कर्णाली प्रदेशमा सरकारविरुद्ध हालै ल्याइएको अविश्वासको प्रस्तावमा मेरो संलग्नता देख्नु तपाईंको गुटगत दृष्टिको परिणाम हो,’ नेपालले भनेका छन्। उनले विधान विपरीत कुनै पनि काम नगरेको दाबी पनि गरेका छन्। प्रतिनिधिसभा सदस्यको पद खोस्ने धम्की संविधान र कानुन विपरीत हुने नेपालको दाबी छ।

स्पष्टीकरणमा नेता नेपालले आफूले नयाँ दल खोलेको भन्ने ओलीको आरोप असत्य भएको दाबी गरेका छन्। आफूले एमालेको नवौं महाधिवेशनबाट पारित विधानअन्तर्गत काम गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई आपराधिक क्रियाकलाप देख्नु ओलीको दृष्टि दोष भएको बताएका छन्।

‘सर्वोच्चको आदेशपछि एमालेको सम्पूर्ण संरचनाहरू र तिनका बैठक बस्नेलगायतका सबै क्रियाकलाप पूर्ववत हुनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ। मेरो यो धारणा सर्वोच्चको फैसलाको निर्देशन अनुरूप छ। तपाईंले यसलाई अनुशासनहीन, अराजक र आपराधिक क्रियाकलाप भनी लाञ्छित गर्नु नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा, पार्टी विधान र पद्दतिका सम्बन्धमा तपाईं स्वंयमा उत्पन्न दृष्टिभ्रम र विचलनको द्योतक हो,’ नेपालले भनेका छन्,‘पार्टी विधानविपरीत कारबाही गर्ने, केन्द्रीय सदस्य थप्ने र महाधिवेशन आयोजक कमिटी बनाउने कुरा सच्याउनपुर्छ भन्ने मागलाई आपराधिक देख्नु पार्टीविरूद्धको आपराधिक चिन्तन होइन र?’

नेपालले अलग पार्टी खोलेको भन्ने हाँस्यास्पद भएको बताएका छन्। ‘पार्टीको इतिहास, सिद्धान्त, कार्यक्रम, नीति र विधिको रक्षार्थ तपाईंले फागुन २८ गते गर्नुभएको पार्टी विधानविपरीतको निर्णय रद्द गर्ने माग गर्दा ‘अलग पार्टी खोलेको’ भन्नु आपत्तीजनक एवम् हास्यास्पद छ,’ नेपालको स्पष्टीकरणमा भनिएको छ,‘फागुन २८ गते गरेको निर्णयको आलोचना गर्नु मेरो कर्तव्य हो। यसलाई दल त्याग गरेको नयाँ दल गठन गरेको कुरासँग जोड्नु उचिन हुँदैन। मैले नयाँ दल खोलेको खोल्न लगाएको चलाएको वा चलाउन लगाएको पनि छैन।’

चैत ४ र ५ गते ललितपुरमा भएको भेला नवौं महाधिवेशनले पारित गरेको राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षाका लगि थियो भन्ने नेपालको तर्क छ। उनले आफूमाथि ओलीले लगाएका सबै आरोप निराधार भएको उल्लेख गर्दै सरकारको नराम्रो कुराको आलोचना गर्नु सरकारविरूद्ध काम गरेको नहुने बताएका छन्।