काठमाडौं। नेकपा एमालेका नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ नेताले एक अपिल सार्वजनिक गरेका छन्। ७२ औँ पार्टी स्थापना दिवसका सन्दर्भमा एकताको अपिलमा उनीहरुले नेकपा एमाले पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको बताएका छन्।
‘एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ। यही अठोटका साथ ७२ वर्षको मिहेनतले निर्माण भएको कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न सवैले आ-आफ्नो ठाउँबाट प्रयाश गरौं। पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट पार्टीका आम नेता तथा कार्यकर्ता र समर्थक सुभचिन्तक सवैमा हामी यही हार्दिक अपिल गर्दछौं,’ उनीहरुले भनेका छन्।
अपीलमा पार्टीको विवाद बैठकबाट समाधान गर्न सकिने उल्लेख गरिएको छ। ‘पार्टी अध्यक्षसँग अनेकौं विषयमा हाम्रा असहमति छन् र हामीसँग पनि उहाँका पनि अनेक असहमति हुन सक्छन्। जसका बारेमा पार्टी केन्द्रीय कमिटीको विधिवत बैठकबाट समाधान गर्न सकिन्छ,’ अपिलमा उल्लेख छ। त्यसका लागि अदालतको फैसलाअनुसार, एमाले २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कनुपर्ने उल्लेख गरिएको छ।
अपिलमा अध्यक्ष ओलीप्रति कडा आक्रोश पोखिएको छ। अपिलमा ओलीलाई केशरजंग रायमाझीसँग तुलना गरिएको छ। दोस्रो महाधिवेशनमा कार्यक्रम पुष्पलालको पारित भएपनि नेतृत्वमा रायमाझी आएको उल्लेख छ। त्यही घटना २०७१ मा सम्पन्न नवौं महाधिवेशनमा दोहोरिएको जनाइएको छ।
नवौं महाधिवेशनबाट पारित कार्यक्रमका विरोधी ओली नेतृत्वमा आएपछि कार्यदिशा, विधान र विधि-पद्धति लत्याउनेतिर लागेको अपिलमा उल्लेख छ। अहिले ओली कम्युनिष्ट पार्टीलाई बिसर्जन र विभाजनतिर लगेको आरोप लगाइएको छ। ‘कमरेड केपी ओलीले हाम्रो पार्टी नेकपा एमालेलाई जुन दिशामा लैजाँदै हुनुहुन्छ, त्यो पार्टीको विभाजन र विघटनको दिशा र अन्ततः कम्युनिष्ट आन्दोलनकै सिर्जनको दिशा हो,’ अपानिमा उल्लेख छ।
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/04/An-appeal.pdf”]



लोकपाटी न्यूज

