ओलीसँगको भेटबारे नेता नेपालले गरे आफ्नो समूहमा ब्रिफिङ, के भएको थियो ?

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको वार्ताबारे आफ्नो समूहमा ब्रिफिङ गरेका छन्। ओलीसँग बुधवार साँझ भएको भेटवार्ता भएपछि नेता नेपाल आन्तरिक छलफलमा जुटेका थिए। ओलीसँगको भेटपछि पनि नेता नेपालले ‘साथीहरूसँग कुरा गरेर’ प्रतिक्रिया दिने बताएका थिए।

बुधवार नक्सालस्थित होटेल मेरियटमा भएको ओली र नेपालबीच मन माझामाझ भएको थियो। तर बैठक बिना निष्कर्ष सकिएको थियो। छलफलमा ओली र नेपालले आ-आफ्ना राजनीतिक विषय राखेका थिए। उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको विवादबारे छलफल भएको थियो। एमाले फुटेरभन्दा पनि जुटेर जानुपर्ने ओली र नेपाल दुवै सहमत छन्। तर नेता नेपालले २०७५ जेठ २ गतेअनुसार नै पार्टी चल्नुपर्ने प्रस्ताव ओलीलाई राखेका थिए।

प्रस्ताव राखेर केही समय कुरा गरेपछि अब भोलि २ बजे फेरि बैठक बसौँ भन्दै निस्किए। ‘पार्टीको विवाद मिलाउन हामी पनि तयार छौँ’ नेपाली निकट एक नेताले भने ‘तर ओलीजीहरू पनि तयार हुनुपर्‍यो नि । ओलीले पार्टीमा जे मन लाग्यो त्यही गर्नु भएको छ । पार्टी त विधिअनुसार चल्नुपर्‍यो नि। माओवादी केन्द्रसँग एकता हुनुअघि जेठ २ गते अनुसार ओली चले हामी मिल्छौं।’

उनका अनुसार ओली समूहले एकलौटी रूपमा माओवादीबाट एमालेमा आएका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, मणी थापालगायत जे पद दिइएको छ त्यो खारेज हुनुपर्नेलगायत प्रस्ताव नेपालले राखेका छन्। ती नेताका अनुसार बिहीबार (आज) बिहान नेपाल समूहका मुख्य नेताहरूको बैठक बसेको थियो।

बैठकले ओली गलेर जेठ २ कै अवस्थामा पार्टी सञ्चालन गरे मात्रै मिल्ने निष्कर्ष निकालेको उनले बताए। नेता नेपाललाई बैठकमा सहभागीहरूले ओली गलेर बैठकमा प्रस्तुत भए मात्रै मिल्न सुझाव दिएका छन्। नेता नेपाल आफू निकट नेताहरूसँग परामर्श गरेर आज पुनः ओलीलाई भेट्न जादैछन्।

ओलीले एकलौटी रूपमा फागुन २८ गते बैठक बसेर माओवादी केन्द्रबाट आफ्नो समूहमा उभिएका २३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेपछि एमालेभित्रको विवाद चर्किएको थियो। त्यसपछि अनुशासन विपरीत गतिविधि गरेको भन्दै ओलीले चैत १६ गते नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बनको निर्णय गरेका थिए। नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गरेर ओलीको कदमविरुद्ध पछि नहट्ने निष्कर्ष निकालेको थियो।

आजै ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने पनि यो समूहमा तयारी भइरहेको छ। वैशाख ७ गते ओलीले माधव नेपालसहित २७ जनालाई दुई दिने स्पष्टीकरण सोधेका थिए।