प्रचण्डको शुभकामना सन्देश : ‘गैरकम्युनिस्ट र पश्चगामी प्रवृत्ति कम्युनिस्ट आन्दोलनबाट बाहिरिन्छ’

Prachanda New photo
लोकपाटी न्यूज

काठमाडौं, ९ वैशाख। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा देखा पर्ने गैरकम्युनिस्ट र प्रतिगामी प्रवृत्ति आन्दोलनबाटै बाहिरिने बताएका छन्।

१५२ औं लेनिन जयन्ती तथा ७२ औं नेकपा स्थापना दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले समाजका निम्ति संघर्ष निरन्तर जारी रहने बताएका छन्। सन्देशमा उनले भनेका छन्, ‘‘देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवादउन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो।’’

सन्देशमा प्रचण्डले रुसी क्रान्तिबाट नेपाली समाजवादी क्रान्तिले प्रेरणा र शिक्षा लिनसक्नेसमेत बताएका छन्। ‘‘तत्कालिन सोभियत संघलाई एकतावद्ध गर्न महान् लेनिनले खेल्नुभएको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्न सक्दछ’’ उनले सन्देशमा भनेका छन्।

शुभकामनाको पूर्णपाठ

विश्व सर्वहारा वर्गका महान् नेता कमरेड भी.आई. लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेपाली मुक्तिकामी जनसमुदाय तथा विश्व सर्वहारावर्गमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। यस अवसरमा मुक्तिकामी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने महान् सहिदहरुमा श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुमा सम्मान र घाइते योद्धाहरुमा स्वास्थ्यलाभको कामना गर्दछु।

नेपाली कम्युनिष्ट आन्दोलन वि.सं. २००६ सालदेखि वर्ग–संघर्ष र वैचारिक संघर्षको आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको हो। महान् लेनिनको जन्म दिन पारेर स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिहरु विरुद्ध लड्दै र खारिँदै सिंगो राष्ट्रलाई नै समाजवादको लक्ष्यमा लामवद्ध गराउन सक्षम साबित भएको हो।

कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ। ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृत्तिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन्। यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृत्ति देखापरेको छ।

सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिन्छ। देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवादउन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो।

तत्कालिन सोभियत संघलाई एकतावद्ध गर्न महान् लेनिनले खेल्नुभएको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्न सक्दछ। पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकतावद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामवद्ध हुन हार्दिक अपील गर्दछ।

Suvakamana-Lanin_Dibas-Nekapa-Sthapana_Dibas-078-01-09