काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिने बताएका छन्।
प्रचण्डले भनेका छन्, ‘कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ। ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन्। यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको छ।’
‘सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिन्छ। देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरूको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो,’ प्रचण्डले भनेका छन्।
तत्कालिन सोभियत संघलाई एकताबद्ध गर्न महान् लेनिनले खेलेको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्न सक्ने विश्वास व्यक्त गरे। पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा प्रचण्डले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिहरूलाई एकताबद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामबद्ध हुन अपील समेत गरेका छन्।




लोकपाटी न्यूज

