काठमाडौं। नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतमा निवेदन बुझाएको छ। निर्वाचित सांसदमाथि कारबाही गर्न लागिएको भन्दै नेपाल समूहले सर्वोच्चलाई प्रतिषेधको आदेश जारी गरीपाउँ भनि निवेदन दिएको हो।
त्यस्तै, २०७५ जेठ २ गतेअघिकै नेकपा (एमाले) ब्युँताउने सर्वोच्चको २०७७ फागुन २३ गतेको आदेश कार्यान्वयन गरिपाउँ भन्ने पनि निवदेनमा माग गरिएको छ। २७ जना सांसदका हकमा त्यस्तो आदेश माग गरिएको हो। निवेदनमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ।
अदालतमा रिट निवेदन दिएको भए पनि दर्ता भने भएको छैन। निवेदकले भोलि दर्ता हुने बताए। नेपाल-खनाल समूहका तर्फबाट अधिवक्ताद्वय गोविन्द वन्दी र टिकाराम भट्टराई निवेदन दर्ताका लागि अदालत पुगेका थिए। वन्दीले आज रिट निवेदन दर्ता हुन नसकेको बताए। ‘आज हामी जान पनि अलिकति ढिलो पनि, समय अभावले दर्ता भएन। निवदेन बुझाएर रजिष्टारकहाँ पुगेको छ। अन्य कुनै कारणले दर्ता हुन नपर्ने भएमा भोलि दर्ता हुन्छ,’ उनले भने।
‘अन्य कुनै कारणले दर्ता हुन नपर्ने’ भन्ने बन्दीको भनाइ अनुसार सर्वोच्च अदालत प्रशासनले निवेदनमा चित्त नबुझेमा दरपीठ गर्न सक्छ। ओलीले मंगलबार कर्णाली प्रदेशका ५ जना, संघका २७ जना गरी ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। नेपाल समूहका सांसदको मंगलवारको भेलाले अदालत जाने निर्णय गरेको थियो। नेपाल-खनाल समूहले २७ जना सांसदलाई सोधिएको स्पष्टीकरण पार्टी विधान विपरीत भएको दाबी गरेको छ। समानान्तर गतिविधि गरेकै आधारमा कारवाही गर्न नमिल्ने उक्त समूहको तर्क छ।



लोकपाटी न्यूज

