काठमाडौं। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह सर्वोच्च अदालत जाने भएको छ। ‘दल फुटाउन उद्यत’ रहेको भन्दै पार्टी संसदीय दलले स्पष्टीकरण पत्र थमाएपछि नेपाल समूह अदालत जाने भएको हो।
एक नेताका अनुसार राजनीतिक दलसम्बन्धी कानून प्रतिकूल हुनेगरी र समानान्तर गतिविधिकै कारण सांसदहरूलाई कारबाही गर्ने मनशायका साथ स्पष्टीकरण पत्र काटिएको भन्दै सांसदहरू अदालत जान लागेका हुन्।
उनका अनुसार खनाल–नेपाल समूहले कानून व्यवसायीमार्फत् मुद्दा (उत्प्रेषणसम्बन्धी) दर्ता गर्न लागेको छ। खनाल–नेपाल समूहले पार्टीलाई एकताबद्ध राख्न अन्तिमसम्म कसरत गर्ने भन्दै पार्टी, दलले सोधेको स्पष्टीकरणको जवाफ भने दिने भएको छ।
वरिष्ठ नेता नेपालसहित चारजनालाई दुई दिनभित्र जवाफ दिनभन्दै पुनः स्पष्टीकरण माग गरिएको छ। झलनाथ खनालसहित २३ सांसदलाई तीन दिनभित्र जवाफ दिन भनिएको छ। एमालेले कुल ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ।



लोकपाटी न्यूज

