कांग्रेसले तोक्यो निर्वाचन समिति संयोजक

nepali-congress-meeting
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता महादेव यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी एवं पूर्वपधाधिकारी बैठकले यादवलाई केन्द्रीय निर्वाचन समिति संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि संयोजक रहेका राधेश्याम अधिकारीले गत चैत २१ गते पदबाट राजीनामा दिएका थिए। अधिकारीको राजीनामापछि रिक्त रहेको निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता यादवलाई नियुक्त गर्न सर्वसम्मतिबाट निर्णय भएको कांग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी दिए। धनुषाका यादव पूर्वमहान्याधीवक्ता पनि हुन्।

पदाधिकारी बैठकमा कांग्रेसको १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल भएको उनले बताए। कांग्रेस पदाधिकारीको अर्को बैठक वैशाख १२ गते २ बजे बोलाइएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल तीन दिनका लागि उपत्यका बाहिर रहने कार्यक्रम रहेकोले अर्को बैठक वैशाख १२ गते बोलाइएको हो।