काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको चौधौं महाधिवेशनलगायतका विषयमा छलफल केन्द्रीत रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
आगामी भदौमा हुने १४ औं महाधिवेशनको सन्दर्भमा पदाधिकारी र पूर्वपदाधिकारीहरु छलफलमा जुटेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेपछि पनि यसले मूर्तरूप लिन सकेको छैन। यद्यपि काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहबीच निरन्तर छलफल हुँदै आएको छ।
कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगो लगाउन सकेको छैन। विभिन्न जिल्लाका झण्डै चार लाख सदस्यको विवरण अध्यावधिक हुन नसकेको कांग्रेस नेताहरु बताउँछन्। विवरण नपठाएका जिल्लाहरुलाई कांग्रेसले सदस्यताको विवरण पठाउन थप एक साताको समयसीमा दिएको छ। पदाधिकारी बैठकमा १४ औं महाधिवेशनको साथै पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुनसक्ने कांग्रेस नेताहरु बताउँछन्।


लोकपाटी न्यूज

