काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाहीको डण्डा देखाएर पार्टी र मुलुकलाई शासित गर्न खोजेको आरोप लगाएका छन्। नेता खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिताको सीमा नाघेको बताए।
‘हामी सुरुदेखि नै पार्टी एकताको पक्षमा छौं। उनले (ओलीले) नै पार्टी अध्यक्षको दुरुपयोग गरेर जथाभावी गरिराख्नुभएको छ,’ उनले भने, ‘पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिन्छौं। हामी पार्टी एकताकै पक्षमा छौँ।’ ओलीले मंगलबार खनाल-नेपाल पक्षका २७ जना सांसदलाई दुई दिनभित्र स्पष्टीकरण बुझाउन पत्र पठाएका छन्।
स्पष्टीकरण पत्रमा ओलीले जुनसुकै बेला कडा कारबाही गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन्। उनले नेपाल पक्षधर नेताहरूलाई एमालेकै नाम र सूर्य चिह्न प्रयोग गरेर किन नयाँ पार्टी खोलेको भन्दै प्रश्नसमेत गरेका छन्। राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम छुट्टै राजनीतिक दल गठन गरेकामा किन कारबाही नगर्ने ? भनेका छन्।
अहिले नेपाल पक्षधर नेताहरूले गठन गरिरहेको समानान्तर कमिटी र विभिन्न कार्यक्रमलाई ओली समूहले राजनीतिक दल गठनको पूर्वअभ्यासका रूपमा व्याख्या गरेको छ। ओलीले स्पष्टीकरण बुझाउन भनेपछि खनाल-नेपाल समूह थप आक्रोशित बनेको छ।
खनालले नेताहरूलाई स्पष्टीकरण सोध्ने कृत्य पार्टीलाई विभाजन गर्ने, विघटन गर्ने मनसायबाट प्रेरित भएको पनि टिप्पणी गरे। ‘अनुशासनको कारबाही गर्नु तर्साउने कुरा हो। ओलीले तर्साउँदैमा कोही तर्सिनेवाला छैन। पार्टीमा सबैको योगदान छ। कोही पार्टी आन्दोलन छाडेर भाग्नेवाला पनि छैन,’ उनको भनाइ थियो।



लोकपाटी न्यूज

