काठमाण्डाै। नेकपा एमालेकी नेतृ एवम् सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने बताएकी छन्। पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरू मङ्गलवार काठमाण्डाैकाे बानेश्वरमा आकस्मिक रूपमा भेला भइ छलफल गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेतृ झाँक्रीले अवैधानिक तरिकाले बसेको बैठकको निर्णयअनुसार स्पष्टीकरण सोधिएको र त्यहीअनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानुनी लडाइँ लड्ने बताएकी हुन्।
पार्टीबाट सांसद पद हट्ने गरी कारबाही गरिए के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै नेतृ झाँक्रीले अदालतमा जाने बताएकी हुन्। प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सच्याएको बताउँदै आफूहरूमाथि कारबाही भए त्यसको विरुद्धमा पनि अदालत जाने बताइन्। उनले भनिन्, ‘हामी संसदीय दलभित्र लड्छौँ, अदालतसम्म पुग्छौँ, किनभने प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा पनि हामी अदालतमा गएर प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेजी गराएको हो नि त ।’
नेतृ झाँक्रीले स्पष्टीकरण सोधिएपछि जवाफ नदिएमा आफ्नो प्रतिरक्षा नगरेको हुने भएपछि कानुन र संविधानअनुसार स्पष्टीकरण दिनुपर्छ भन्ने भएकाले सबै सांसदले व्यत्तिगत तवरबाट जवाफ पठाउने बताईन्। उनले भनिन्, ‘यो कुनै स्पष्टीकरण दिन लायक स्पष्टीकरण होइन। तर स्पष्टीकरण दिएनौँ भने हामीले आफ्नो प्रतिरक्षा नगरेको हुन्छ । त्यसकारण कानुनतः, संविधानतः हामीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो सल्लाह भएको छ।’
नेतृ झाँक्रीले आफूहरूले २०७५ जेठ ३ गते अगाडिको नेकपा एमालेलाई चिन्ने तर गएकाे फागुन २८ गते थपिएका जम्बोरी मान्छेसहितको नेकपा एमाले नचिन्ने पनि बताईन्। उनले भनिन्, ‘हामी फागुन २८ गते थपेका जम्बोरी मान्छेसहितको बैठकै चिन्दैनौँ नि। त्यो नेकपा एमाले चिन्दैनौँ । हामीले २०७५ जेठ २ गते अगाडि, ३ गतेको एकताअघिकाे एमाले, त्यसका पदाधिकारी, त्यसका कमिटी, देशभरिको संरचना, जनसङ्गठनलाई चिन्छौँ र त्यसको बैठक बस्यो भने हामी जान्छौँ। त्योभन्दा यताको हामीलाई अमान्य हुन्छ।’
नेतृ झाँक्रीले नयाँ दल गठन गर्ने आफूहरूको कुनै मनसाय नरहेको पनि स्पष्ट पारेकी छन्। दल गठन गरेको भन्ने हो भने दलको संरचना हुनुपर्ने, दलको नाम हुनुपर्ने र दर्ता भएको हुनुपर्ने कुरालाई पार्टी अध्यक्ष ओलीले ख्याल गरेको हुनुपर्ने पनि उनले बताईन्। अध्यक्ष ओलीको इच्छा पार्टीबाट छोडेर जाऊन् भन्ने रहेको तर आफूहरू एमालेभित्रै लडेर आफ्नो अधिकार स्थापित गर्ने नेतृ झाँक्रीकाे भनाइ छ।
पार्टी अध्यक्ष ओलीमा आफूहरूलाई कारबाही गर्ने अधिकार नरहेको पनि नेतृ झाँक्रीले बताईन्। अध्यक्ष ओलीले गठन गरेको नेकपा एमालेको कमिटी नै विधिसम्मत नभएको उनकाे जिकिर थियाे। आफूहरूसहितको केन्द्रीय कमिटीले गरेका निर्णयहरू मान्य हुने तर अवैधानिक तवरले ल्याइएका मान्छेहरूसहितको केन्द्रीय कमिटीले गरेको निर्णय पनि अवैधानिक नै हुने उनकाे भनाइ छ।



लोकपाटी न्यूज

