प्रधानमन्त्री ओली र जसपाका नेताहरुबीच भेटघाट

KP_Mahantha
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो।

उनीहरुबीच करिब दुई घण्टा कुराकानी भएको थियो। ओलीलाई भेट्न अध्यक्ष ठाकुर पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र कार्यदलका सदस्यसहित बालुवाटार पुगेका थिए। लुम्बिनी सरकारविरुद्ध अविश्वास प्रस्ताव आएको भोलिपल्ट भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अविश्वास प्रस्तावमा जसपाका सांसदहरुले हस्ताक्षर गरेका थिए। मधेस आन्दोलनका आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ताको प्रगतिबारे छलफल भएको भेटवार्तामा सहभागी जसपा कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए।

यसअघि कार्यदलको बैठकमा भएका छलफल र मुद्दा फिर्ताको प्रगतिबारे कुराकानी भएको उनले बताएका छन्।