राप्रपाको महाधिवेशन सर्‍यो

Raprapa
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ। सोमबार बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि राप्रपाले वैशाख २५ गतेदेखि २८ सम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।

हेरफेर कार्यतालिका अनुसार अब राप्रपाको महाधिवेशन जेठ २२ देखि २५ गतेसम्म काठमाडौंमा हुनेछ। सक्रिय सदस्यता वितरण र स्थानीय तहहरुको अधिवेशनका लागि समय अपुग भएकोले जेठ २२ देखि २५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरि तालिका परिवर्तन गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए। बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद बैशाख मसान्तसम्म थप गरेको छ।

त्यस्तै वडादेखि जिल्ला तहसम्मको अधिवेशन बैशाख मसान्तसम्म, प्रदेश कार्य समितिको निर्वाचन जेठ ७ गतेसम्म, महाधिवेशन प्रतिनिधि निर्वाचन २०७८ जेठ १० गतेसम्म गर्ने निर्णय पनि गरेको छ। पार्टी स्थापनाको ३० वर्षपछि राप्रपाले कमिटीबाट महाधिवेशनका प्रतिनिधि चयन गर्ने परम्परा छाडेर पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छान्ने अभ्यास गर्दै छ।

‘वडा तहसम्म पार्टीका साथीहरू सक्रिय सदस्य बनाउने, वडा, गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन गर्ने अभियानमा हुनुहुन्छ तथापि समय अपुग भएकाले पूर्वनिर्धारित तालिका परिवर्तन गर्नुपरेको हो,’ श्रेष्ठले भने।

उनका अनुसार हालसम्म मकवानपुर, रूपन्देही, सल्यान, नवलपरासी, मुगु, डोटी, उदयपुर र लमजुङ जिल्लाको अधिवेशन सम्पन्न भएको छ। ‘अधिकांश जिल्लामा केही दिनभित्रै अधिवेशन गर्ने अवस्था बनिसकेको छ, वैशाख मसान्तसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गरी निर्धारित मितिमा महाधिवेशन हुनेछ,’ श्रेष्ठले भने। राप्रपाको महाधिवेशनमा ४,५०० भन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने उनले बताए।