अविश्वासको प्रस्ताव दर्ता भएपछि पोखरेलले भने : संसद भंग गराैं, निर्वाचनमा जाउँ

Shankar_Pokharel
लोकपाटी न्यूज

काठमाडौं। आफूविरुद्ध अविश्वास प्रस्ताव आएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यस्तो अवस्थामा नयाँ जनादेश उत्तम विकल्प हुने बताएका छन्।

सोमबार दिउँसो नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाको हस्ताक्षरमा प्रस्ताव दर्ता प्रदेशसभा सचिवालयमा गरिएको छ।

‘प्रमुख दलभित्रको अन्तर-संघर्ष उत्कर्षमा पुग्दा त्यसको कूप्रभाव सबैभन्दा बढी संसदमै पर्छ,’ मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तोमा नयाँ जनादेश उत्तम विकल्प मानिन्छ।’

मुख्यमन्त्री पोखरेल एमालेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता हुन्। अविश्वासको प्रस्ताव दर्ता भएसँगै लुम्बिनी सरकार संकटमा परेको छ। मुख्यमन्त्री पोखरेलले संविधानको धारा १८८ अनुसार ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव गर्नुपर्नेछ।

विश्वासको मत लिन नसकेमा मुख्यमन्त्रीबाट पदमुक्त हुने संवैधानिक व्यवस्था छ। लुम्बिनीमा एमालेका ४१ सांसद छन्। सरकार जोगाउन माधव नेपाल समूह निर्णायक देखिएको छ।