एमाले महाधिवेशन आयोजक कमिटीको बैठक आज, के छन् एजेण्डा ?

uml
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको दसौं आयोजक कमिटीको पहिलो बैठक बस्दैछ। बैठक सोमबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए। बैठकका लागि छ वटा एजेण्डा तय भएका छन्।

नेता बस्नेतका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य, अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेस, नेताहरुको कार्यविभाजन, संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावमाथि छलफल हुनेछ। बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

तर, बैठकमा एमालेको माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ। नेता बेदुराम भुसालले आफूहरु बैठकमा सहभागी नहुने जानकारी दिए। महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको भन्दै त्यस्तो बैठकमा सहभागी नहुने भुसालले बताए।

नेपाल समूह फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकतर्फी रुपमा ओलीपक्षको बैठकले गरेका निर्णय कार्यान्वय बदरको माग गर्दै देशभर समानान्तर कमिटी बनाएको छ। यस्तै, पार्टीको आधिकारिकता दाबी गर्दै नेपाल समूह आइतबार ८८ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेको थियो।