काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १ बजे बस्नेछ।
बैठकमा साविकका २४१ जना र फागुन २८ मा मनोनित २३ सहित २६४ सदस्यहरूलाई खबर पठाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
बैठकमा अध्यक्ष आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र लुम्बिनी प्रदेशमा पार्टी ह्विप विपरित ‘फ्लोर क्रस’ गरेर माओवादी सरकार टिकाउने भूमिका खेलेका खनाल–नेपाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय गर्ने तयारी छ।
ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएका थिए। बुढा, शाही र थापालाई यसअघि नै प्रदेश कमिटीले पार्टी सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ। तर उनीहरूलाई मुख्यमन्त्री शाहीले मन्त्री बनाइसकेका छन्।
आजको बैठकमा जिल्लामा नयाँ इञ्चार्जहरू तोक्ने तयारीसमेत ओलीले गर्नेछन्। पार्टीको सांगठनिक प्रतिवेदनमा नेताहरूको कार्यविभाजन के कस्तो रहने भन्ने उल्लेख भएर आएबमोजिम जिम्मेवारी बाँडफाँड हुने उनले बताए।
यसैबिच, खनाल–नेपाल पक्षले भने आजको केन्द्रीय कमिटी बैठक पनि बहिष्कार गर्ने भएको छ। फागुन २८ मा एकलौटी बैठक राखेर ओलीले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन तथा पदाधिकारीको जिम्मेवारी खोसेको भन्दै असन्तुष्ट सो समूह बैठकमा नजाने भएको हो।



लोकपाटी न्यूज

