प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

Oli_Bohora
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको भोलिको बैठक रोकिनुपर्ने बताएका छन्। भोलि सोमवारका लागि ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक डाकेका छन्।

आइतवार विज्ञप्ति जारी गरेर महाधिवेशन आयोजक कमिटी बैठक रोकेर नवौं महाधिशेनको नीति तथा सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने तर्क गरेका हुन्। ‘अहिलेको बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोजिनुपर्नेमा २०७८ वैशाख ८ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ। यसलाई तत्काल रोकिनुपर्छ,’ वक्तव्यमा उल्लेख छ।

उत्तेजना, आवेश र अभिमान हावी भएर कुनै पनि निर्णय गर्न नहुने बोहराले उल्लेख गरेका छन्। वक्तव्यमा अदालतको फैसलाअनुसार, २०७५ जेठ २ गते अगाडिकै एमाले संरचना कायम गर्न पनि उल्लेख गरिएको छ। बोहराले गएको फागुन २८ मा अध्यक्ष ओलीले एक्लौटी निर्णय गरेकाले त्यसलाई खारेज गर्नुपर्ने सुझाव पनि दिएका छन्।

बिग्रेको स्थितिलाई सुधार गर्नुपर्ने भए पनि उल्टै वैशाख ६ गते आयोजक कमिटीको बैठक आयोजना गरेर स्थितिलाई थप असहज बनाउने काम भएको उनको आरोप छ। ‘यसलाई तत्काल रोकिनुपर्दछ। उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्नु हुँदैन। पार्टीमा संयम, धैर्यता र सुझबुझ राखेर निर्णय गर्नुपर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।