काभ्रेमा पनि एमाले विभाजित, नेपाल समूहमा को-को छन् ?

Nepal_Khanal
लोकपाटी न्यूज

काभ्रे। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले काभ्रेमा समानान्तर कमिटी गठन गरिएको छ। बनेपामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलाबाट टोक बहादुर वाइवाको अध्यक्षतामा २११ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो।

साथै पालिका स्तरको समानान्तर कमिटीका साथै युवा, विद्यार्थी, किसानलगायतका संगठनको पनि जिल्ला कमिटीको घोषणा गरिएको खनाल-नेपाल समूहले जनाएको छ। भेलामा वरिष्ठ नेता माधव नेपाल, नेत्री अष्टलक्ष्मी शाक्यसहित कृष्ण प्रसाद सापकोटा, विदुर सापकोटा लगायतको उपस्थिति रहेको थियो।

चैत ४ र ५ गतेको राष्ट्रिय भेलाको निष्कर्षबमोजिम नेपाल समूहले प्रदेश, जिल्ला र जनसंगठन पुनर्गठन गरिरहेको छ। खनाल-नेपाल पक्षले आन्तरिक सर्कुलरमार्फत कमिटी पुनर्गठन अभियानलाई वडा तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै दुई महिने पार्टी वैचारिक तथा संगठनात्मक सुदृढीकरण अभियान सञ्चालन गर्न निर्देशन दिइसकेको छ। उक्त समूहले देशव्यापी रूपमा सो अभियान सञ्चालन गरिरहेको छ।

अभियान सञ्चालनका लागि वैशाख दोस्रो सातासम्म प्रदेश, जिल्ला र जनसंगठनलाई बैठक राखेर वडा तहसम्मको योजना बनाउन खनाल-नेपाल समूहको योजना छ।

अभियानअन्तर्गत उपत्यकामा वैशाख ९ गते पार्टी स्थापना दिवसका सन्दर्भमा ‘प्रधानमन्त्री केपी ओलीले गरेको पार्टी विखण्डन र विसर्जनकारी कार्यका विरुद्ध’मा विशेष कार्यक्रम गर्ने, १३ वैशाखमा विराटनगरमा प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आयोजना गर्ने, ३ जेठमा मदन-आश्रित स्मृति दिवसमा चितवनमा विशेष कार्यक्रम आयोजना गरिने योजना सो समूहले बताएको छ।