केही दिनभित्र केन्द्रमा कायापलट हुन्छ : प्रचण्ड

Prachanda New photo
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा नयाँ सरकार बन्ने बताएका छन्। चितवनमा आइतबार आयोजित कार्यक्रममा प्रचण्डले कर्णाली प्रदेशमा सरकार जोगाएको उल्लेख गर्दै केन्द्रमा पनि केही दिनमा कायापलट हुने बताए।

देशको राजनीतिक अवस्था असहजतर्फ अघि बढेकोले त्यसलाई परास्त पार्न राजनीतिक दलका नेताहरूसँग गम्भीर वार्ता हुने उनले बताए। ‘देशको राजनीतिक असहज र अस्वाभाविक ढङ्गले अघि बढेको छ। सङ्घीय गणतन्त्रमाथि हमला गर्ने प्रयास भएको छ। विभिन्न प्रतिक्रियावादी केन्द्रहरू दुष्साहस गरिरहेका छन्,’ प्रचण्डले भने।

उनले आफू अहिले केपी ओली नेतृत्वको सरकार ढाल्न प्रयास गरिरहेको पनि बताए। ‘अब एक छिन पछि म काठमाडौँ फर्किएर दलका नेताहरूसँग छलफल गर्दैछु,’ उनले भने, ‘अलोकतान्त्रिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारी गर्दैछु। कर्णालीमा के गर्‍यौँ हामीले देखिहाल्यौं। गण्डकीमा, लुम्बिनीमा के हालत हुँदैछ देखिएकै छ। केन्द्रमा नै के हुन्छ केही दिनमा थाहा भइहाल्छ।’

उनले केपी ओली नेतृत्वको सरकार पतन भएपछि नयाँ युग सुरु हुने दाबी गरे। कार्यक्रममा प्रचण्डले आफू र आफ्नो पार्टीलाई प्रहारको निसानामा राखिएको बताए। आफ्नो शक्ति सकिएको भन्दै हल्ला चलाइएको पनि उनले बताए।