नेपाल समूहका सांसद बर्खास्त गरेर उपनिर्वाचन गर्न ओलीकाे प्रस्ताव

kp-sharma-oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रतिनिधिसभामा खाली रहेको क्षेत्रमा उपनिर्वाचन गर्ने बताएका छन्। शनिबार बालुवाटारमा भएको ‘सर्वदलीय बैठक’मा माधवकुमार नेपाल समूहका सांसद बर्खास्त गरेर उपनिर्वाचन गर्न ओलीले प्रस्ताव राखेका थिए। त्यसैगरी, ओलीले कोरोना नियन्त्रणका लागि आफू प्रयासरत् रहेको बताए।

बैठकमा ओलीले सभामुख अग्नि सापकोटासँग आक्रोश पोखेका छन्। बैठकमा सहभागी राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले आफूलाई काम गर्न नदिएको बताउँदै आक्रोश पोखेको बताए। सभामुखले अराजक, अनैतिक र असंवैधानिक काम गरिरहेको आरोप ओलीले लगाए।

सर्वदलीय भनिए पनि बैठकमा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपाकै नेताहरू उपस्थित थिएनन्। प्रमुख प्रतिपक्षी दलको तर्फबाट भने सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत थिए।