मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, क-कसले गरे मत ‘क्रस’ ?

लोकपाटी न्यूज

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। उनको पार्टी नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र एमालेका ४ सहित २२ जना सांसद मत पाएपछि उनको पद जोगिएको छ। विश्वासको मतको लागि २० सांसद आवश्यक थियो।

प्रदेशसभामा रहेका एमालेका १९ (सभामुखबाहेक) सांसदमध्ये प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले संसदीय दलको ह्वीप उल्लंघन गरेका छन्। उनीहरु मधव नेपाल पक्षीय सांसद हुन्। मत विभाजनको आधारमा गरिएको मतदानमा ५ जना विश्वासको मतको पक्षमा उभिएका थिए। राप्रपाकी एक्ली सांसद सोशिला शाहीले भने तटस्थ बस्ने निर्ण लिइन्।

योसँगै मुख्यमन्त्री शाहीको सरकार तत्कालको लागि जोगिएको छ। केही महिनापछि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने गरी सहमति भएको स्रोतको भनाइ छ। ह्वीप उल्लंघन गर्ने सांसदहरु दलबाट कारबाहीमा परे पनि केही समय मन्त्री हुने उक्त स्रोतले बतायो।

एमालेले एक महिनाअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत मागेका थिए। माधव नेपाल समूहका सांसदहरुले संसदीय दलको ह्वीप उल्लंघन गर्ने आकलन गरिएको थियो। शुक्रबार बिहान संसदीय दलका नेता यामलाल कँडेलको घरमा बसेको दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो।