काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्। कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न दक्षिणी ललितपुर पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेको बताए।
भवन उद्घाटनपछि छोटो सम्बोधन गरेका उनले प्रधानमन्त्री ओलीको फोन आएको सुनाए। ‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि,’ उनले भने, ‘म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनेँ।’
कार्यक्रम सकिएपछि प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै प्रचण्डले भने, ‘यो बाटो बनाइदिनुस् भन्नेवाला छु।’ उनले पूर्वाधार विकासमा सहयोग गर्ने बचन समेत दिए। कार्यक्रममा प्रचण्डले केही मानिसलाई गाउँ गाउँमा सिंहदरवार पुगेको मन नपरेको आरोप लगाए।
प्रधानमन्त्री ओलीको फोन आएपछि लामो समय भाषण नगरी प्रचण्ड कार्यक्रमस्थलबाट निस्केका छन्। सर्वोच्च अदालतले नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि दुई नेताबीच भेटवार्ता भएको छैन।



लोकपाटी न्यूज

