काठमाडौं। प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। बूढानीलकण्ठस्थित देउवा निवासमा जारी भेटवार्तामा सत्ता समीकरण, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
उनका अनुसार भेटमा उपेन्द्रसहित जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी छन्। यसअघि कांग्रेस केन्द्रीय समितिको बैठकले आफ्नै नेतृत्वमा सरकारका लागि पहल गर्ने निर्णय गरेको थियो। कांग्रेसले माओवादी केन्द्र र जसपासँग पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रस्ताव यसअघि बसेको तीन दलको बैठकमा राखेको थियो।
कांग्रेसले नयाँ सरकार गठनका विषयमा औपचारिक निर्णय गर्न जसपालाई आग्रह पनि उक्त बैठकमा गरेको थियो। केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच पछिल्लो समय छलफल भइरहेको छ। तर, जसपाले सरकारबारेको धारणा स्पष्ट नपार्दा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन सकेको छैन।
जसपाभित्र ओली नेतृत्वको सरकारमा सहभागी हुने वा एमालेइतर दलको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने भन्ने विषयमा मतान्तर कायमै छ। अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीलाई साथ दिएर अघि बढ्ने पक्षमा छन् भने अध्यक्ष यादव र भट्टराई ओलीको विकल्प तत्काल खोज्नु पर्ने अडानमा छन्।



लोकपाटी न्यूज

