अर्घाखाँची। ऊर्जामन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार ढाल्ने सपना नदेख्न आग्रह गरेका छन्। मन्त्री रायमाझीले वर्तमान सरकारलाई ढलाउन नसक्ने देखेपछि नेकपाबाट छुट्टिएर गएको नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको दावी गरे।
सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले माओवादीले समेत समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने भन्ने विषयमा सहमति र सहकार्य नभएको प्रष्ट हुने बताए। उनले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको पनि दाबी गरे। ओली सरकारको विरोध गर्नुको कुनै तुक नभएको उनको भनाई छ।
मन्त्री रायमाझीले आफ्नो सांसद पद प्रचण्डले खोसिदिएर जनताको जनादेशमाथि ठूलो अपमान गरेको जिकिर गरे। ‘ओली सरकार ५ वर्षसम्मै रहन्छ, यही सरकारले चुनाव गराउँछ,’ उनले भने, ‘प्रचण्डले लोकतन्त्रको दुहाई दिएर देशलाई विकास र समृद्धितर्फ होइन अस्थिरतातर्फ धकेले। सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने, सड्कमा रोइकराई गरेको कुनै अर्थ छैन।’
रायमाझीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा राजनीतिक विचलनमा आएर सडकमा गएको टिप्पणी गरे। विचलन आएपछि दुई तिहाइको सरकार छाडेर, आफैंले प्रधानमन्त्री प्रस्ताव गरेका केपी ओलीको विरोध गर्न प्रचण्ड सडकमा पुगेको उनले बताए। रायमाझीले एमसीसीको विषयमा छलफल गरेर पास गर्ने पनि बताए।



लोकपाटी न्यूज

