चौथो पटक टेण्डर आह्वान

Ranipokhari
लाेकपाटी न्यूज

काठमाडौं, ८ माघ । काठमाडौं महानगरपालिकाले ऐतिहासिक रानीपोखरी पुननिर्माणका लागि चौथो पटक टेण्डर आह्वान गरेको छ ।

तीन पटकसम्म टेन्डर आह्वान गर्दा निर्माण कम्पनी सक्षम नआएको भन्दै कामपाले चौथो पटक टेण्डर आह्वान गरेको हो ।

कामपाले निर्माण कम्पनी छनोट गर्न नसकेपछि हाल रानीपोखरी पुनर्निर्माणको कार्य अलपत्र परेको छ । कुनै निर्माण कम्पनीको कागजात नपुगेको र बढि रकम मागेकाले निर्माण कम्पनी छनोट गर्न नसकेको बताएको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने, ‘ठेक्का लागेका दुईवटा निर्माण कम्पनीको आवश्यक कागजात नपुगेपछि ती दुई कम्पनीले काम गर्न सकेनन् र पुन: अर्को टेण्डर निकालेका हौँ।’

रानीपोखरी पुनर्निर्माणको लागत १२ करोड ६६ लाख तोकेकोमा रवीनाथ कन्स्ट्रक्सनले ११ प्रतिशत बढी रकम मागेपछि प्रस्ताव स्वीकार नगरेको र चौथो पटक टेन्डरको प्रक्रियामा रहेको कामपाको भनाइ छ। चौथो पटक पनि निर्माण कम्पनी नआए रानीपोखरीको पुननिर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नै बनाउने तयारी छ ।

ठेक्का आह्वान गर्दा भने जस्तो निर्माण कम्पनी नआएपछि सामुदायिक पहलबाट रानीपोखरी पुनर्निर्माण गर्न सकिने महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बताइन्। ‘पहिलो प्राथमिकता टेन्डर लगाउने नै हो तर बारम्बार टेन्डर लगाउँदा पनि भने जस्तो निर्माण कम्पनी नआए सामुदायिक पहलबाट रानीपोखरी पुनर्निमाण गर्नेतर्फ अगाडी बढ्छौं’, उपमेयर खड्गीले बताइन्

०७२ वैशाखको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निर्माणको शिलान्यास सोही वर्ष भूकम्प दिवसको अवसरमा माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। तर, शिलान्यास गरेको ३ वर्ष बितिसक्दा पनि रानीपोखरी पुनर्निर्माणको कुनै उपलब्धी देखिएको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्