नेपालगञ्ज, ८ माघ । नेपालगञ्ज भन्सार कार्यालयमा करोडौँको मेसिन अलपत्र परेको छ । शाान्ति सुरक्षालाई मध्यनजर गर्दै नेपालगञ्ज भन्सार नाकाका लागि भनि करिब एक वर्ष अगाडि ल्याइएको ब्याग एक्सरे मेसिन त्यतिकै थन्किएको हो ।
एक वर्ष अगाडि सो मेसिन भन्सार कार्यालयमा आएको थियो । दक्ष जनशक्ति र पर्याप्त ठाँउको अभावका कारण मेसिन अलपत्रमा परेको कार्यालयले जनाएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाका अनुसार मेसिन राख्नका लागि प्रर्याप्त ठाँउ र दक्ष जनशक्ति नहुँदा प्रयोगमा ल्याउन कठिनाई भएको बताए ।
मेसिनको बजार मूल्य करिब १ करोड देखि १ करोड ५० लाखसम्म हुन सक्ने कार्यालयका एक कर्मचारीले बताए । महंगो र सिमा सुरक्षाका लागि महत्वपुर्ण मानिएको मेसिन प्रयोगमा नआउँदा त्यतिकै थन्किएर रहने अवस्था आएको छ ।
नेपाल–भारत सीमामा दैनिक हजारौँको संख्यामा सर्वसाधारणहरुको आवत जावत हुने गरेको छ । नेपालगञ्ज जमुनाह नाकाबाट विभिन्न प्रकारका अवैध क्रियाकलापहरु हुने गरेतापनि त्यसका लागि भने कुनै सुरक्षात्मक प्रविधि रहेको पाइदैन ।
प्रहरी, भन्सार कार्यालयका कर्मचारी र शसस्त्र प्रहरीको नजरमा जे देखियो त्यो नै सही वा गलत हुने गरेको छ । जसले गर्दा समानका बिच भागमा लुकाई छिपाई लगिने र अवैध सामान नेपाल भित्रिने गरेका छन् ।
नेपालगन्ज भन्सार कार्यालय नाका भन्दा टाढा र भित्र परेको हुँदा पनि भन्सार कार्यालयमा राख्नका लागि समस्या भएको हो । तर जमुनाह नाकामा रहेको प्रहरी चौकीसँगै पहिला भन्सारका कर्मचारीहरु चेकजाँचका लागि बस्दै आएका थिए । भन्सारका कर्मचारीहरु बस्दै आएको उक्त जग्गा मन्दिरको पर्ने भएको हुँदा अहिले सो जग्गा खाली गर्नका लागि मन्दिरले सुचना जारी गरे पश्चात भन्सार कर्मचारीहरुलाई समस्या उत्पन्न भएको हो ।
भन्सार कार्यालयका प्रमुख निरौलाले आफु आउनु भन्दा पहिलानै सो जग्गाको सम्झौता भएको हुँदा अहिले समस्या भएको बताए । मेसिन चलाउनका लागि पनि दक्ष जनशक्तिको अभाव रहेको हुँदा पनि सञ्चालनमा ल्याउन नसकेको उनको भनाई छ ।



लाेकपाटी न्यूज
