उत्सव मनाउन डा. केसीलाई भट्टराईको आग्रह

Yogesh bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, ८ माघ । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का नेता योगेश भट्टराईले अनशनरत डा.गोविन्द केसीलाई उत्सव मनाउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भइरहँदा त्यसलाई डा. केसीले एक उत्सवको रुपमा लिनुपर्ने बताएका छन् ।

‘चिकित्सा शिक्षा विधेयकलाई विद्यार्थी र जनतामुखी बनाउन भर्खरै यहाँले गर्नुभएको अपिललाई हार्दिक स्वागत र सम्मान गर्दछु । चिकित्सक शिक्षाको सुधारका लागि यसअघि बनेका विभिन्न आयोग, समिति तथा कार्यदलका सुझाव, विभिन्न राजनीतिक दल तथा संघ–संगठनका सुझाव र माननीय सदस्यहरुका संशोधन प्रस्ताव अनि तपाईंले गर्नुभएको आन्दोलनसमेतका आधारमा चिकित्सक शिक्षा विधेयक राष्ट्र, जनता र विद्यार्थीको हितमा रहेको कुरा यहाँलाई विश्वास दिलाउन चाहन्छु,’ उनले स्टाटसमा लेखेका छन्, ‘कुनै कमीकमजोरी रहेमा यहाँ र यहाँजस्तै व्यक्तित्वको सुझावमा सुधार गर्दै जाने कुरामा ढुक्क रहन समेत अनुरोध गर्दछु । चिकित्सक शिक्षा विधेयक संसदबाट पारित भइरहँदा तपाईंको समेत ऐतिहासिक जितका रुपमा उत्सव मनाउन तपाईंलाई मेरो निवेदन छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्