जनकपुर। नेकपा माओवादी केन्द्रले एमालेतिर लागेका थप चार जना सांसदलाई स्पष्टीकरण सोधेको छ। एमाले-माओवादी केन्द्र ब्यूँतिएपछि एमालेमा रहने निर्णय लिएका चार जना प्रदेश सांसदलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको हो।
प्रदेश २ का माओवादी केन्द्रतर्फका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल, कुन्दन साह, ज्वाला साह र मो. समीर अन्सारी एमालेमा लागेका छन्। उनीहरू चार जनालाई स्पष्टीकरण सोधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारी माओवादी केन्द्रको छ।
एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित छन्। रामचन्द्र मण्डल धनुषा १ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। बारा क्षेत्र नम्बर ३ को क बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट ३ को ख बाट निर्वाचित कुन्दनप्रसाद कुशवाह पनि एमाले भएका छन्। बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले बनेका छन्।
उनीहरु चारैजनालाई २४ घण्टे स्पष्टिकरण सोधिएको माओवादी संसदीय दलका प्रमुख सचेतक दिलिप साहले जानकारी दिए। माओवादी केन्द्रले आइतबार मात्र प्रदेश २ को संसदीय दलको नेतामा भरत साहलाई चयन गरेको हो। यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवि कर्ण चयन भएका छन्।
प्रदेशसभामा माओवादीका ११ सांसद रहेकोमा चारजनालाई कारवाही गरेपछि ७ जनामा सिमित हुने भएको छ। माओवादीले राजनीतिक दल सम्बन्धी ऐनको प्रयोग गरि एमालेमा प्रवेश गरेका चारजना प्रतिनिधिसभा सदस्यको पद रिक्त गराइसकेको छ। प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन्। प्रदेशको पाँचौँ अधिवेशनको पहिलो बैठक चैत ३० गते सोमबार दिनको १ बजे आह्वान गरिएको छ।
प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ। प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ। प्रदेशसभा संसद् सचिवालयका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो।



लोकपाटी न्यूज

