हेटौँडा, ८ माघ । राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काँग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कम्युनिष्टको विचार बोकेर काँग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उनले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काँग्रेसले बोक्दा काँग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ भने ।
‘हिन्दूत्व जनजागरण अभियान’ अन्तर्गत हेटौँडा–६ मा उक्त पार्टीद्वारा मङ्गलबार आयोजित घरदैलो कार्यक्रममा अध्यक्ष थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एक पटक सबै उठ्नुपर्ने समय आएको विचार व्यक्त गरे ।
मुलुकमा भ्रष्टाचार मौलाएको छ भन्दै उनले वाइडबडी विमान काण्ड, सुन काण्ड र विदेशमा राखिएको कालो धन छानबिनको विषयमा सरकार उदासीन हुनु दुर्भाग्यपूर्ण भएको बताए । निर्मला पन्तको विषयलाई अहिलेसम्म टुङ्गोमा पुर्याउन नसक्नु सरकारको लागि लज्जाको विषय बन्नुपर्थ्यो भन्दै उनले विधिको शासन छैन, मनपरि छ, जसले जे गरे नि हुने अवस्था लोकतन्त्रको निमित्त घातक हुनसक्नेमा जोड दिए ।
राप्रपा कुनै धर्मको विरोधी नभएको भन्दै धर्म निरपेक्षताले मुलुकमा धार्मिक सद्भाव र द्वन्द्व निम्त्याइएको चर्चा गर्दै थापाले भने, ‘गरिबी र अशिक्षाका कारण धर्म परिवर्तन गराइएको छ, यो रोकिनु पर्छ ।’
उक्त अभियानमा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, नगरअध्यक्ष गुरुप्रसाद सापकोटालगायतले सम्बोधान गरेका थिए । सभापछि घरदैलो कार्यक्रम गर्दै वडा परिक्रमा गरिएको थियो ।



लाेकपाटी न्यूज

