प्रधानमन्त्रीले तक्मामा राखिएको नक्शाबारे जवाफ दिनुपर्छः भीम रावल

Bhim_Rawal
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभिन्न मानपदवी तथा पदकमा उल्लेख नेपालको नक्सामा लिम्पियाधुरा र लिपुलेक समावेश नगरिएकोप्रति एमाले नेता भीम रावलले आपत्ति जनाएका छन्। रावलले तक्माबाट नेपालको पूर्ण नक्सा नराखिनुको पछि बालुवाटारमा विदेशी गुप्तचरसँगको मन्त्रणाले काम गरेको त होइन ? प्रश्न पनि गरेका छन्।

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित लिपुलेक र लिम्पियाधुरासहितको नक्सा गायब भएपछि उनले यस्तो आलोचना गरेका हुन्। नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश नगरिएको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने रावलले बताएका छन्।

‘राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ,’ रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसो हुनुको कारण कतै बालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतको व्यक्तिहरूसँगको मन्त्रणा त होइन ?’