काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले बढ्दो कोरोना महामारीको जोखिमसँगै सरकारले सीमाक्षेत्र अनुगमनका साथै सबै किसिमको सावधानी अपनाउनु पर्ने बताएका छन्। बेसार पानीको मात्र कथा दोहोर्याई रहे महँगो साबित हुने भन्दै राणाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
भारतमा कार्यरत नेपालीहरु स्वदेश फर्कने क्रम बढेसँगै कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न उच्च सतर्कता अवलम्बन गर्नु पर्ने राणाको भनाइ छ। ‘छिमेक भारतमा द्रुततर दरमा कोरोना संक्रमण बढेको विदितै छ। यसै क्रममा भारतमा कार्यरत धेरै कामदारहरु स्वदेश फर्किरहेको खबर छ। यस अवस्थामा सरकारले सिमाना अनुगमन गर्नेदेखि समयमै सबै सावधानी अपनाउनु जरुरी भएको छ,’ उनले भने।
राणाले सामाजिक सञ्जालमा भनेका छन्, ‘अन्यथा बेसार पानीको कथा महँगो साबित हुने प्रष्ट छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार तातो पानीको बाफ लिने, नुन, पानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताएका थिए। ओलीले कोभिड-१९ विरुद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको बताएका थिए।
ओलीले बेसार पानी, अम्बाका पात लगायत घरेलु विधिबाट कोरोना निको हुने दाबी पटक-पटक गर्दै आएका छन्। उनले दाबी गरेपनि चिकित्सकहरु भने यसको पुष्टि भइनसकेको बताउँछन्। ओलीको सोही दाबीतर्फ लक्षित गर्दै राणाले बेसार पानीको कथा महँगो पर्नसक्ने तर्फ सचेत गराएका हुन्।



लोकपाटी न्यूज

