काठमाडौं, ८ माघ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रुख नभएको नाङगो डाँडामा टावरको जग खन्न सुरु गरेको कार्यलाई वन कार्यालयले रोक लगाएको बताएका छन् ।
उनले भने, ‘प्रक्षेपित मितिमा लाइन बनाउन सकेनौं भनें त्यस करिडोरमा निर्माण भइरहेका आयोजनाको करिव १ सय ७० मेगावाट बिजुली खेर जाने अवस्था छ । नाङगो डाँडामासमेत काम गर्न पाइँदैन अनि कसरी प्रसारण लाइनको निर्माण गर्नु ?’
वन डिभिजन कार्यालय रसुवाले चिमिले त्रिशुली २२० केभी प्रसारण लाइन अन्तर्गतको उक्त निमार्ण कार्यमा वन क्षेत्रको जग्गा प्रयोग गरेको र त्यहाँ रहेका रुखविरुवा हटाउन स्वीकृति नलिएको भन्दै रोक लगाएको हो ।
२७ किलोमिटर प्रसारण लाइन आयोजनाको निर्माण चालु आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ । प्रसारण लाइनको निर्माण तोकिएको समयमा हुन नसकेमा चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधिन १ सय १० मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन लगायतका आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था छ ।
वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा कटानको निर्णय गर्न मन्त्रिपरिषबाट समय लाग्ने र यसबाट काम प्रभावित हुने देखिएपछि आयोजनाले रुखबिरुवा काट्नु नपर्ने गत्लाङ–ग्रेबीचमा पर्ने घलेदरबार क्षेत्रमा ६ नम्बर टाबरको जग खन्न सुरु गरेको थियो ।
तर, डिभिजन वन कार्यालय प्रमुख शोभा सुवेदीले वन क्षेत्रको जग्गाको भोगाधिकारको निर्णय नभएसम्म काम रोक्न नत्र सुरक्षाकर्मी पठाएर पक्राउ गर्ने चेतावनी दिएपछि काम रोकिएको आयोजना प्रमुख केदार सिलवालले बताए ।
रुख काट्नु नपर्ने ठाउँमा काम गर्ने विषयमा प्रमुख जिल्ला अधिकारी र डिएफओसँग छलफल गरिएको तर कानुनले हात बाँधिएको भन्दै कुनै निर्णय हुन नसकेको सिलवालले जानकारी दिए ।



लाेकपाटी न्यूज
