माओवादीका यी ४ सांसदको पनि पद जाने (नामसहित)

Nekapa_Perishdada
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक कदमलाई साथ दिँदै माओवादी केन्द्रबाट एमालेतर्फ लागेका चार जना नेता बिहीबार सांसद पद खारेजीसँगै मन्त्रीबाट पदमुक्त भए। २०७४ सालको चुनावबाट निर्मित प्रतिनिधिसभामा दल त्याग गरेको आधारमा प्रत्यक्ष निर्वाचित सांसदको पद गएको हो ।

माओवादी केन्द्रको सिफारिसमा अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली ४ बाट निर्वाचित लेखराज भट्ट, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीको सांसद पद गुमेको हो। नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरेका नेताहरुलाई धमाधम कारबाही गरिरहेको छ। केन्द्रमा चार जनाको सांसद पद गुमेको छ। यस्तै प्रदेशहरुमा पनि यो प्रक्रिया जारी रहेको छ।

यसैबीच प्रदेश नम्बर २ मा पनि माओवादीका ४ जना सांसद कारवाहीमा पर्ने भएका छन्। कारवाहीमा पर्नेमा रामचन्द्र मण्डल, कुन्दन साह, ज्वाला साह र मो. समिर अन्सारी रहेका छन्। उनीहरुलाई स्पष्टीकरण सोधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारी पार्टीले गरेको छ।

यसैबिच सांसद पद गुमेसँगै मन्त्रीबाट पदमुक्त भएका चारै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधानअन्तर्गत मन्त्रीमा पुनर्नियुक्ति गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त भएका ४ मन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाएकी छिन्। शुक्रबार उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहले पद तथा गोपनीयताको सपथ लिएका हुन्। मन्त्रीहरुले साविककै मन्त्रालयमा पुन नियुक्ति पाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट हटाएका ४ मन्त्रीलाई शुक्रबार पुन नियुक्त गरेका थिए।

उनीहरु यसअघिकै मन्त्रालयको जिम्मेवारीमा फर्केका हुन्। राष्ट्रपति कार्यालयका अनुसार रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सपथ लिए। भट्ट ३ फागुन २०७५ मा केपी शर्मा ओलीको सरकार गठन भएयता निरन्तर मन्त्री छन्। रायमाझी, साह र चौधरी भने प्रनिनिधिसभा विघटनपछि १० पुसमा पुनर्गठित मन्त्रिपरिषदमा सदस्य बनेका थिए। संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।