वर्तमान सरकार इतिहासकै विवेकहिन : प्रचण्ड

Prachanda Photo
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार इतिहासकै विवेकहीन भएको टिप्प्णी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले दुई तिहाइ नेतृत्वको सरकार विकेकहीन हुनु बिडम्बना भएको बताए।  प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले बिचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको दावी गरे। उनले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउने बित्तिकै छलछाम गर्दै सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना गरिएको बताए।

उनले संसद पुनःस्थापनासम्म आइपुग्दा सरकारात्मक भएपनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तन विरोधीको रुपमा आएको बताए। प्रचण्डले फेरि आन्दोलनमा जानुको विकल्प नभएको बताउँदै मजदुर, किसानलाई दुःख नदिइकन आन्दोलन गर्नुको विकल्प नभएको उल्लेख गरे। अब केही दिनमा नयाँ सरकार बन्छ भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे।

यस्तै संघीय निजामती सेवा सम्बन्धी विधेयक राज्यव्यवस्था समितिबाट पास भएपनि प्रधानमन्त्री ओलीले रोकेर सदनबाट पास हुन नदिइ निकम्मा बनाएको आरोप लगाए। उनले कर्मचारी समायोजन सम्बन्धी विधेयक लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने गरी समितिबाट पास भएको बताउँदै अहिले त्यसलाई अघि बढ्न नदिइएको बताए ।