नेपाल र भारतका परराष्ट्रमन्त्री बीच टेलिफोन वार्ता

लोकपाटी न्यूज

काठमाण्डाै। नेपाल र भारतका परराष्ट्रमन्त्री बीच शुक्रवार टेलिफोन वार्ता भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिला मन्त्री एस. जयशङ्करबीच भएको वार्तामा कोभिड-१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने कार्यमा निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ।

दुवै देशका परराष्ट्र मन्त्रीले कोभिड-१९ महामारीविरुद्धको लडाइँमा थप सहयोगको अभिवृद्धि गर्नेसहित खोपको आपूर्तिबारे विचार–विमर्श गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्री ज्ञवालीले कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरे। साथै उनले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो मात्रा खोप लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका लागि सहजीकरण गर्न भारतका बाह्य मामिला मन्त्रीसँग अनुरोध गर्नुभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रत्युत्तरमा बाह्य मामिला मन्त्रीले खोप आपूर्तिसहित महामारीबाट पार पाउन नेपालको प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने आश्वासन दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्