काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त भएका ४ मन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाएकी छिन्। शुक्रबार उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहले पद तथा गोपनीयताको सपथ लिएका हुन्। मन्त्रीहरुले साविककै मन्त्रालयमा पुन नियुक्ति पाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट हटाएका ४ मन्त्रीलाई शुक्रबार पुन नियुक्त गरेका थिए।
उनीहरु यसअघिकै मन्त्रालयको जिम्मेवारीमा फर्केका हुन्। राष्ट्रपति कार्यालयका अनुसार रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सपथ लिए। भट्ट ३ फागुन २०७५ मा केपी शर्मा ओलीको सरकार गठन भएयता निरन्तर मन्त्री छन्। रायमाझी, साह र चौधरी भने प्रनिनिधिसभा विघटनपछि १० पुसमा पुनर्गठित मन्त्रिपरिषदमा सदस्य बनेका थिए। संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।



लोकपाटी न्यूज

