काठमाडौं। माओवादी केन्द्रले सांसद पदबाट हटाएका ४ मन्त्रीलाई पुन नियुक्त गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहलाई साविककै मन्त्रालयमा पुन नियुक्ति दिएका हुन्।
यस्तै सरकारले नेपाल भारत रेल सेवा सम्झौतामा संशोधन गर्ने गरी तयार गरिएको मस्यौदा स्वीकृत गर्ने र नेपालको तर्फबाट हस्ताक्षर गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई अख्तियारी दिने निर्णय गरेको छ। गएको चैत २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै सरकारले सिन्धुपाल्चोक जिल्लाको पाङ्गताङ्ग सवस्टेशनदेखि बाह्बिसे सवस्टेशनसम्म झण्डै २० किलोमिटर डबल सर्किट बलेफी–बाह्रबिसे १३२ केपी प्रशारण लाइनको टावरहरु निर्माण गर्न जुगल गाउँपालिका र बाह्रबिसे नगरपालिकामा पर्ने १ दशमलव २७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
यस्तै गएको चैत २३ गते बसेको बैठकले शान्तिपूर्ण आन्दोलनको क्रममा शहादत प्राप्त गरेका झापा जिल्ला कन्काई नगरपालिका वडा नं ३ का डिल्ली गौतम र झापा जिल्ला कचनकवल गाउँपालिका वडा नं ६ का स्व लक्ष्मी पाण्डेलाई शहीद घोषणा गर्ने सरकारले निर्णय गरेको छ।




लोकपाटी न्यूज

